निजगढ विमानस्थलको काम अघि बढाउन सरकारले विज्ञ टोली गठन गर्ने

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १९ : ३१
निजगढ विमानस्थलको काम अघि बढाउन सरकारले विज्ञ टोली गठन गर्ने

काठमाडौँ  । सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विज्ञ टोली गठन गर्ने भएको छ। सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणको सञ्चालक समितिको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ टोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिसअनुसार मन्त्रालयले विज्ञ टोली गठन गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने तयारी गरेको जानकारी दिए।

उनले मुलुकको जेम चेन्जर आयोजनाको रुपमा हेरिएको निजगढ विमानस्थल बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नै विज्ञ समूह गठन गरी पुनः अध्ययन गरिने बताए। मन्त्री श्रेष्ठले विज्ञ टोलीबाट आएका प्रतिवेदनअनुसार नै अगाडि बढ्ने स्पष्ट पार्दै वातावरणको कुरामा सरकार संवेदनशील रहेको पनि बताए।

उनले प्रधानमन्त्रीसहित स्थानीय निकायका पदाधिकारीहरुसँगै गरिएको स्थलगत निरीक्षणको क्रममा हाल प्रस्तावित स्थानमै विमानस्थल निर्माण गर्न उपयुक्त हुने देखिएको पनि बताए।

मन्त्री श्रेष्ठले विमानस्थलको प्रस्तावित रनवे र टर्मिनल भवन निर्माण गर्ने ठाउँ खाली मैदान रहेको जिकिर गर्दै विमानस्थल निर्माणका लागि धेरै रुख कटान गर्नुपर्ने अवस्था नहेको बताए। उनले २०७२ सालको आँकडाका आधारमा मात्रै अहिले बाहिर आएको भन्दै वास्तविकतामा वातावरणको क्षति हुने अवस्था नरहेकोसमेत दाबी गरे।

त्यस्तै समितिको बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगतमा भएका केही त्रुटीलाई छोडेर अब सरकारले निजगढ विमानस्थललाई प्राथमिकता दिएर अगाडि बढ्न सुझाव दिए। उनले अन्य विमानस्थल निर्माण गर्दा पनि आवश्यकताको अध्ययन गरेर मात्रै निर्माणको काम अगाडि बढाउनु पर्ने बताए।

पूर्वप्रधानमन्त्री नेपालले सर्वोच्च अदालतले निजगढ विमानस्थल बनाउनको लागि अवरोध नभएर निर्माण कार्य अगाडि बढाउने ढोका खोलिदिएको दाबी गरे।

त्यस्तै नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले ठोस योजनाका साथ निजगढ विमानस्थल निर्माणको काम अगाडि बढाउन उचित हुने बताए। डा.रावलले सरकार विमानस्थल बनाउनको लागि रकम पनि विनियोजन गर्नुपर्ने र त्यसैअनुसार कामलाई तीव्र रुपमा अगाडि बढाउनुपर्ने बताए।

बैठकमा समितिका सदस्य सुरेन्द्रकुमार कार्कीले वातावरणको अध्ययन र स्रोतको सुनिश्चतता बिना वाहवाही बटुल्नका लागि मात्रै निर्माणको काम अगाडि नबढाउन सुझाव दिए।

प्रतिक्रिया दिनुहोस