चितवनमा पूजा सामग्रीको बढ्दो ब्यापार

सोमबार, २१ जेठ २०७५, १७ : ५७
चितवनमा पूजा सामग्रीको बढ्दो ब्यापार

चितवन । चितवन र आसपासका क्षेत्रमा धार्मिक अनुष्ठान बढ्दै गएपछि चितवनमा पूजा सामग्रीको ब्यापार वृद्धि भएको छ । मनकामना, देवघाट, मौलाकालिका लगायतका क्षेत्रमा आउने धार्मिक पर्यटक तथा श्रद्धालु भक्तजनको वृद्धिसँगै चितवनमा पूजा सामग्री बिक्री गर्ने बिक्रेताको संख्या पनि बढ्न थालेको छ । 
मनकामनामा दैनिक तीन हजार पाँच सयदेखि चार हजार भक्तजन पुग्ने गरेका छन् । मौलाकालिका र देवघाटमा पनि दैनिक हजारभन्दा बढी भक्तजन पुग्ने गरेका छन् । घरमै हुने पूजाआजामा पनि धार्मिक सामग्रीको प्रयोग र सजावट बढेकोले ब्यापार फस्टाएको व्यवसायीहरु बताउँछन् । विभिन्न संघसंस्थाका लागि आर्थिक संकलन गर्न महायज्ञ, श्रीमद्भागवत लगायतका ठूला अनुष्ठान तथा सप्ताह लगाउने गरिएको छ । चितवनमा वर्र्षेनी दश वटाभन्दा बढी श्रीमद्भागवत, महायज्ञ लगायतका ठूला पूजा हुने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्रको बिक्रम बाबा, रत्ननगरको चित्रसेन, माडीको गोद्दकनाथ क्षेत्र, परशुराम कुण्ड, बैकुण्ठेश्वर, सोमेश्वर गढी, छरछरे, चैनपुरको कंकाली माई, जुटपानीको कालिका, पटिहानीको छितामाई, रत्ननगरको हरिहर मन्दिर लगायतका क्षेत्रमा लाग्ने मेला तथा पूजामा पनि ठूलो मात्रामा धार्मिक सामग्रीको कारोबार हुने गरेको छ ।
श्रीकृष्ण प्रणामी, सत्य साई, राधा माधव सेवा, ब्रह्मकुमारी राजयोग सेवा, अद्वैत संस्था लगायतका संस्थाले गर्ने धार्मिक कृयाकलापका कारण धार्मिक सामग्रीको माग बढेको छ । पछिल्ला दिनमा नयाँ घर बनाउँदा छुट्टै पूजा कोठा वा मन्दिर बनाउने प्रचलन बढेको छ । आम्दानी बढेसँगै घरघरमा हुने न्वारनदेखि चौरासी पूजासम्मका कृयाकलापले भब्यता पाउने गरेको छ । यसमा देखासिकी बढ्दा पूजा सामग्रीको कारोबारमा टेवा पुगेको छ ।
चितवनमा अहिले पूजा सामग्रीमात्र बिक्री गर्ने पसलको संख्या एक दर्जनभन्दा बढी पुगेको छ । ६ वटा पसल नारायणगढ र भरतपुर क्षेत्रमा छन् भने अरु ६ वटाभन्दा बढी पसल टाँडी, पर्सा लगायतका क्षेत्रमा खुलेका छन् । नारायणगढमा रहेका तीन वटा ठूला पसलले अन्य साना पसललाई थोकका रुपमा सामान बिक्री गर्न थालेपछि विभिन्न धार्मिक क्षेत्रमा  साना पसल राखेर  माला, धजा, धागो लगायतका सामग्री बिक्री गर्ने पसलेले सामान लिन काठमाडौँ वा भारततिर जानुपर्ने बाध्यता हटेको छ । 
चितवनमा धार्मिक सामग्री पाइने पसलको संख्या बढेपछि चितवनका धार्मिक क्षेत्रबाहेक छिमेकी जिल्लाहरु धादिङ, गोर्खा, नवलपरासी, तनहँु, मकवानपुर लगायतका छिमेकी जिल्लाबाट सामान लिन चितवन आउने गरेको पाइएको छ । ‘नेपाल मध्यभागमा पर्ने भएकाले अन्य जिल्लाका मानिस पनि आउँछन् । सबैसँग ठेगाना नसोधिने भएकाले यति नै जिल्लाका आउँछन् भनेर भन्न सकिँदैन’ वैदिक पूजा सामग्री भण्डारका संचालक तिलकराम भट्टराई भन्नुहुन्छ, ‘छिमेकी जिल्लामा पनि धेरै थोरै सामान जान थालेको छ ।’ दुना, टपरी, परालको चप्पल लगायतका सामान स्थानीय स्तरमै खरिद हुने गरेको भट्टराईले जानकारी दिनुभयो ।
वैदिक पूजा सामग्री भण्डार संचालन गर्दै आउनु भएका भट्टराईले २०५३ सालमा पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट बिएस्सी गरेपछि मदनपोखराको शारदा उच्चमाविमा १२ वर्षसम्म विज्ञान र गणित पढाउनु भयो । स्वतन्त्र ढंगले केही नयाँ काम गर्न पाँच वर्षदेखि नारायणगढमा धार्मिक पूजा सामग्री बिक्री गर्दै आउनु भएका भट्टराई ब्यापारबाट सन्तुष्ट भएको बताउनु हुन्छ । 
पूजा सामग्रीका रुपमा प्रयोग हुने अधिकांश सामान भारतबाट आउने गरेको ब्यवसायीहरुले जानकारी दिए । हस्तकलाका सामान भने स्थानीय स्तरबाटै खरिद गरिने उनीहरुको भनाइ छ । व्यवसायीका अनुसार, बैशाख, कात्तिक, माघ, फागुन लगायतका लगन हुने महिनामा पूजा सामग्रीको ब्यापार उच्च हुन्छ । पुस, चैत लगायतका महिनामा भने कारोबार न्युन हुन्छ । 
पूजाको तयारी गरेका ब्यक्तिले एउटै पसलबाट सबै सामग्री पाउन् भन्ने उद्देश्यले संचालित पूजा सामग्री पसलहरुमा धजा, धागो, मूर्ति, पूजाका अन्य सामग्री पाइन्छन् । यस्ता पसलमा जौ, तिल, धजा, धागो, अबिर, केशरी लगायतका सामग्री सबैभन्दा बढी खपत हुने गरेको सम्वद्ध व्यापारीहरुको अनुभव छ । माटोको भाँडा, कातेका बत्ती, डालो, नाङ्लो लगायतका हस्तकलाका उत्पादन चितवन आसापासबाट ल्याएर बिक्री गर्ने गरिएपनि मेशिनले निर्माण गर्ने मूर्ति लगायतका भाँडाकुँडा तथा कपडाहरु भारतबाट आउँछन् ।

प्रतिक्रिया दिनुहोस