लण्डनमा ‘लन्डन टु पेरिस’

सफल खबर संवाददाता

शनिबार, २५ असार २०७९, १४ : १६
लण्डनमा ‘लन्डन टु पेरिस’

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘लन्डन टू पेरिस’ को छायांकन सुरु गरेका छन् । ‘पञ्चेबाजा’ रिलिज भएको पाँच वर्ष पश्चात् उनले लण्डनमा फिल्मको शुभ मुहूर्त गर्दै छायांकन सुरु गरेका हुन् फिल्मका प्रमुख कलाकारहरू साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कबीर खड्काले मुहूर्त सट दिएका थिए । निश्चल र गरिमाको यो डेब्यू फिल्म हो ।

फिल्मको छायांकनका लागि चार जना कलाकारको टोली हालै लण्डन प्रस्थान गरेको थियो । निर्देशक लामिछानेसहितको टोली भने केही हप्ता अगाडि नै छायांकनको चाँजोपाँजो मिलाउन लण्डन पुगिसकेको थियो । ट्राभल लभ स्टोरीको कथामा निर्माण हुन लागेको फिल्मको सम्पूर्ण छायांकन बेलायत हुँदै फ्रान्समा सकिनेछ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यसअघि प्रदीपले लेखेको कथामा घनश्यामले फिल्म ‘पञ्चेबाजा’ बनाएका थिए । निर्देशक लामिछानेले सामाजिक विषयवस्तुमा ‘अग्नीदहन’ र ‘धौली’ फिल्मको पनि निर्देशन गरेका छन् ।

फिल्मको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल छन् भने सह-निर्मातामा अजित सिंह छन् । ‘पासवर्ड’बाट फिल्म निर्माणमा होमिएको एबी इन्टरनेशनलले त्यसपछि ‘सम्हालिन्छ कहिले मन’ निर्माण गर्‍यो, जुन आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस