मैले ल्याएको बजेटले समाजवादी अर्थतन्त्र निर्माण हुन्छ : अर्थमन्त्री खतिवडा

शुक्रबार, १८ जेठ २०७५, १८ : ४६
मैले ल्याएको बजेटले समाजवादी अर्थतन्त्र निर्माण हुन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले ल्याएको बजेटले समाजवादी अर्थतन्त्र निर्माण हुने दावी गरेका छन् । अर्थमन्त्री खतिवडाले आम्दानी अनुसार कर लिने गरी सरकारले ल्याएको बजेटलाई किन विरोध गरिएको भनि सांसदहरुसँग प्रश्न पनि गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभामा सांसदहरुले बजेटमाथि उठाएको प्रश्नहरुको जवाफ दिने क्रममा उनले आम्दानी अनुसारको कर लिने व्यवस्था लागू गरेर जाँदा मात्रै समावेशी अर्थतन्त्र निर्माण गर्न सकिने व्यवस्थाका साथ बजेट आएको पनि तर्क गरे ।

अर्थमन्त्री खतिवडाले समाजवादी अर्थतन्त्र निर्माणका लागि राज्यको नेतृत्वदायी भूमिका स्थापित गराउन बजेटमा जोड दिनु परेको पनि स्पष्टिकरण दिए । ‘सरकारले मुलुकलाई समृद्ध बनाउन आवश्यक सार्वजनिक–निजी साझेदार ऐन ल्याउने व्यवस्था पनि बजेटमार्फत गरेको छ ।

सरकारले संविधान, कानुन अनुसार राजस्व बाँडफाँडको नीति पनि बजेटमा समावेश गरिएको छ’ जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले भने । स्थानीय र प्रदेशलाई कम राजस्व वितरण गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए । अर्थमन्त्री खतिवडाले संविधान र कानुनले दिएको अधिकार भित्र रहेर आफूले राजस्व बाँडफाँडको नीति लिएको भन्दै  बजेट संघीयताको मर्म विपरित आएको भन्ने सांसदहरुको आरोपको पनि खण्डन गरे ।

क्षमता विकास गर्दै बजेट स्थानीय र प्रदेशमा बढाउँदै लैजाने योजना बजेटमा उल्लेख गरिएको अर्थमन्त्री खतिवडाको भनाई छ । उनले स्थानीय र प्रदेश तहमा आवश्यक क्षमताको अभावमा चालू आर्थिक वर्षमा २ खरव बजेट खर्च हुन नसकेको स्मरण गराउँदै सरकारले प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अघि बढने नीतिको आधारमा बजेट तय गरिएको दावी समेत गरे ।
उनले प्रधानमन्त्री कार्यालयमा बजेट धेरै विनियोजन गरिएको भन्ने भनाईमा सत्यता नरहेको पनि दावी गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेट पनि प्रधानमन्त्री कार्यालयमा हालिएकाले बजेट ठूलो देखिएको उनको स्पष्टिकरण छ । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट प्रधानमन्त्री कार्यालयको हो भन्ने बुझाई त्रुटिपूर्ण रहेको पनि स्मरण गराए । अर्थमन्त्री खतिवडाले विनियोजन विधेयकमाथि छलफल गरेर बजेटमा आवश्यक व्यवस्था गर्ने अधिकार संसदसँग सुरक्षित रहेको पनि उल्लेख गरे ।

यो पनि
प्रसारण लाइन प्रभावितलाई जलविद्युत्को शेयर दिइने
 

प्रतिक्रिया दिनुहोस