काठमाडौं । धादिङको धार्केमा रासायनिक मल बोकेर काठमाडौंतर्फ आउँदै गरेको दुई वटा ट्रकबाट किसानले मल खोसेका छन् । मल बोकेको ट्रकलाई राजमार्गछेउमा रोकेर किसानले मल झिकेर लगेका हुन् ।
अवैध रासायनिक मल लिएर आएको ट्रकलाई राजस्व अनुसन्धान विभागले शुक्रबार राति धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानहरुले ट्रक रोकेर मल खोसेका हुन् ।
राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्यले सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल खोसेको सूचना पाएको बताए । ‘सशस्त्र प्रहरीको सुरक्षाबाट कसरी मल खोसियो, हामी अनुसन्धान गर्दैछौं’ उनले भने ।
शनिबार दिउँसो मल बोकेको ट्रक काठमाडौंतर्फ जाँदै गरेको सूचना पाएपछि धार्केमा राजमार्गमा ४/५ सय किसान भेला भएका थिए । मल बोकेको ट्रक आइपुग्नेवित्तिकै किसानले ट्रक रोकेर मल झिकेर लगेका हुन् । त्यस क्रममा सशस्त्र प्रहरीले किसानहरुमाथि कुटपिट गरेको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा सशस्त्र प्रहरी कर्मचारीले ट्रकबाट मल झिक्दै गरेको अवस्थामा एक महिलामाथि बन्दुकको कुन्दाले हिर्काइरहेको देखिन्छ ।
किसानले धेरैजसो मल लगिसकेपछि प्रहरी घटना स्थलमा आएको थियो । त्यसपछि उसले मललाई नियन्त्रणमा लिएको छ ।प्रवक्ता आचार्यका अनुसार ती टकमा एटा सामान भनेर अर्कै सामान ल्याइएको थियो । ‘एउटामा गहुँ भनेर र अर्कोमा सिमेन्ट भनेर रासायनिक मल ल्याइएको रहेछ, हिजो चेकजाँच गर्दा मल ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बलको सुरक्षामा राखिएको थियो’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ असार २०७९, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुदान नपाएपछि दूध बेच्न किसान आफैंले किने ‘ट्रक’
अनुदान नपाएपछि दूध बेच्न किसान आफैंले किने ‘ट्रक’
कैलालीका किसान व्यावसायिक च्याउखेतीमा
‘गुणे’ धानमा आकर्षित हुँदै दैलेखका किसान
धान बिक्री गर्ने किसानलाई चेकमार्फत भुक्तानी
सुनसरीमा किसान भन्छन्– यस पटकको दसैँ दशा भएर आयो