काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४– द फाइनल म्याच’ लाई नेपाली चलचित्रको इतिहासमै सबैभन्दा ठूलो ओपनिङ मिलेको छ । पहिलो दिनमा फुल अकुपेन्सीका साथ चलचित्रले व्यापारको नयाँ कीर्तिमान रच्न सफल भयो ।
नेपाली चलचित्रलाई हेला गर्ने परम्परा विपरीत कबड्डी–४ लाई मल्टिप्लेक्सहरुले उच्च शो दिएका थिए । नेपाली चलचित्रमा अहिलेसम्मकै उच्च संख्यामा शो पाएपछि र दर्शकले पनि त्यही अनुसार साथ दिएपछि कबड्डी ४ को व्यापार चम्किएको छ ।
यो चलचित्रले क्यूएफएक्समा १०५ शो र बिग मुभिजमा १७ शो प्राप्त गरेको छ । अहिलेसम्म कुनै पनि नेपाली वा विदेशी चलचित्रले यति धेरै शो पाएका थिएनन् । आज सबै शोहरु हाउसफुल भए ।
कबड्डी ४ ले पहिलो दिन साढे दुई करोडदेखि ३ करोड रुपैयाँ कलेक्सन गर्ने वितरक गोविन्द शाहीको आँकलन छ । यो अहिलेसम्म नेपालमा कुनै पनि चलचित्रले एक दिनमा गरेको सर्वाधिक व्यापार हो ।
यसअघि सर्वाधिक व्यापारको कीर्तिमान दक्षिण भारतीय चलचित्र ‘केजिएफ २’ ले राखेको थियो । शाहीका अनुसार सो चलचित्रले पहिलो दिन दुई करोड हाराहारी कलेक्सन गरेकोमा त्यो रेकर्ड ‘कबड्डी ४’ ले तोडेको छ । देशभरका साना–ठूला सबै हलहरु हाउसफुल रहेको शाहीले बताए ।
‘यो अहिलेसम्मकै उच्च शो पाएको र उच्च व्यापार गरेको चलचित्र हो,’ उनले भने, ‘हलिउड र बलिउडका चलचित्रमा पनि यो लेभलको क्रेज देखेको थिइनँ । यसले अल नेपाल नयाँ इतिहास रचेको छ ।’
चलचित्रका निर्देशक रामबावु गुरुङले पनि चलचित्रले उत्साहजनक ओपनिङ गरेको जानकारी पाएको बताए ।‘मल्टिप्लेस वा थिएटरको स्क्रिनको हिसाब र शोको हिसाब गर्दा रेकर्ड ब्रेक नै भएको हो,’ उनले भने, ‘प्रामाणिक व्यापार कति गर्छ भन्ने चाहिँ अलिक पछि मात्रै थाहा हुन्छ ।’
चलचित्रले अबको दुई दिन उच्च व्यापार गर्ने निधो भइसकेको छ । भोलि शनिवारका लागि पनि देशव्यापी रूपमा शतप्रतिशत बुकिङ भएको छ भने आइतबारको ६५ प्रतिशत टिकट बिकिसकेको छ ।
आइतबार पनि सार्वजनिक बिदा भएकाले फुल अकुपेन्सीको अनुमान छ । त्यसो भएको खण्डमा तीन दिनमै चलचित्रले झण्डै सात करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सक्छ ।वितरक शाही भन्छन्, ‘पछि कस्तो होला के होला थाहा छैन, तर नेपाली चलचित्रको इतिहासमा अहिलेसम्म यस्तो दिन आएको थिएन । आउने दिनमा पनि यो रेकर्ड ब्रेक गर्न अरू चलचित्रलाई गाह्रो छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ जेठ २०७९, १५ : ०१
लेखकबाट थप