यस्तो छ विश्वको सबैभन्दा महङ्गो र खतरनाक आधुनिक लडाकु विमान

शुक्रबार, ११ जेठ २०७५, १५ : ३४
यस्तो छ विश्वको सबैभन्दा महङ्गो र खतरनाक आधुनिक लडाकु विमान

इजरायलले सिरियामा गरेको एक हमलामा अमेरिकाद्वारा निर्मित विशेष लडाकू विमान प्रयोग भएको खबर बाहिर आएसँगै एफ्–३५ को चर्चा विश्वभर सुरु भएको थियो । विश्वकै सबैभन्दा महङ्गो, आधुनिक र शक्तिशाली बताइने यस विमानलाई इजरायलले अमेरिका भन्दा पहिले प्रयोग गरेको दाबी गरेपछि यसबारे झन बढी खोजी हुन थालेको हो ।

इजरायलका वायुसेना प्रमुखले केही समयअघि विभिन्न तस्बिरहरुतर्फ संकेत गर्दै यसको प्रयोग भइसकेको उल्लेख गरेका थिए । इजरायलले एफ–३५ सहित नौ अन्य विमानहरु पनि खरिद गरिसकेको छ । यस विमानको नाम इजरायलले ‘आदिर’ राखेको छ अर्थात् अत्यन्तै शक्तिशाली किनकी यस विमानले युद्ध समेत बदल्न सक्ने बताइन्छ ।

वास्तवमा यो विमान यस्तो प्रक्रियाबाट निर्माण गरिएको छ जसले टाढाका मिसाइल पत्ता लगाउने रेडारको पकडबाट समेत आफूलाई बचाउन सक्छ । रेडारमा यसलाई देख्न नसकिने भएकाले नै शत्रुहरुको विमानलाई यसले थोरै समयमै ढालिदिन सक्छ । यसमा जडान गरिएका विशेष सेन्सरले वरिपरिका डाटाहरु तुरुन्तै सैन्य लडाकूहरुकहाँ पुर्याइदिन सक्छ भने केही समयका लागि रेडरलाई जाम गर्ने क्षमता समेत यसमा रहेको छ ।  

एफ–३५ विमान तीन प्रकारका हुन्छन् । एउटा सामान्य विमान जसरी अवतरण गर्छ भने अर्को किसिमको चाहिँ हेलिकप्टर जसरी ठाडै अवतरण गर्न सक्छ । त्यस्तै तेस्रो किसिमकोे विमानवाहकबाट पनि उडान भर्न सक्ने खालको हुन्छ । दुईवटा इन्जिन भएको विश्वकै सबैभन्दा आधुनिक बताइने हुनाले यसलाई पाचौँ पिँढीको विमान पनि भनिएको छ । यो संसारकै सबैभन्दा महङ्गो लडाकू विमान हो । हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको मूल्य र क्षमता सार्वजानिक गरेपछि यसको धेरै आलोचना पनि गरिएको थियो । यसको मूल्य १० करोड अमेरिकी डलर भन्दा बढी रहेको बताइन्छ । -बीबीसी

प्रतिक्रिया दिनुहोस