काठमाडौं । ब्युटी प्याजेन्ट बलात्कार घटना प्रकरणकी पीडित युवतीको घरमा प्रहरी पुगेको छ । २०७१ सालमा नशालु पदार्थ खुवाएर बलात्कार गरेको घटना सार्वजनिक गर्ने युवतीको घरमा प्रहरी पुगेको हो ।
प्रहरीले उनीसँग सामान्य सोधपुछ गर्नुका साथै काउन्सिलिङ समेत गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयकाबाट प्रहरी टोली उनको घरमा पुगेको हो । कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले पीडितलाई भेटेर कुराकानी गरिएको र कानुनी रूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए । प्रहरीले उनको परिवारसँग पनि भेट गरेको छ ।
बुधबार टिकटकमार्फत उनले भिडियो सार्वजनिक गर्दै आफू बलात्कृत भएको बताएकी थिइन् । भिडियो भाइरल बनेपछि प्रहरी, मानवअधिकारकर्मी, महिला अधिकारकर्मी लगायतले उनको खोजी गरेका थिए । अधिकारकर्मीसँगै प्रहरीले पनि उनकोबारेमा जानकारी लिएको हो ।
जबरजस्ती करणी सम्बन्धी कसुरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । जसकारण उनले किटानी जाहेरी दिन नसक्ने अवस्था आएको छ । यस्तो अवस्थामा कुन कानुनलाई आधारमा मानेर अघि बढ्न सकिन्छ भन्ने विषयमा प्रहरीले छलफल गरिरहेको छ ।
यो विषय संसदमा समेत प्रवेश गरेको थियो । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले यो विषयमा सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले सरकारलाई शीघ्र घटनाबारे छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएका दिए ।
सामाजिक सञ्जालमार्फत तरंग नै पैदा गरेको यो घटनामा सबत्र चासो देखिएको छ । २० वटा भिडियोमा त्यो बेलाको घटनाबारे जानकारी गराएकी थिइन् । त्यसपछि उनले हद म्यादका कारण न्याय नपाउने अवस्था रहेको भन्दै सर्वत्र आलोचना भएको थियो । उनले त्यसपछि भिडियो बनाउँदै आफू बलात्कृत हुँदा पनि न्याय नपाउने अवस्था आएको बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, १८ : ०७
लेखकबाट थप