बढ्दो गर्मी, विद्युत अनियमित

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १२ : २९
बढ्दो गर्मी, विद्युत अनियमित

नेपालगञ्ज । नेपालगञ्ज देशकै बढी गर्मी हुने सहरका रूपमा चिनिन्छ। केही दिनदेखि यहाँको तापक्रम ४० डिग्री आसपासमा छ। यो गर्मीको सहरमा विद्युत भने नियमित हुन सकेको छैन। छिन-छिनमा बत्ती जाने र लो भोल्टेजको समस्याले स्थानीय आक्रोशित भएका छन्।

नेपालगञ्जमा नेपाल र भारतको विद्युत लाइन जोडिएको छ। दुई देशबाट जोडिएको लाइनले यहाँ बत्तीको समस्या छैन। तर, आन्तरिक व्यववस्थापन मिलाउन नसक्दा र बेलाबेलामा देखिने समस्याले गर्दा विद्युत अनियमित भइरहेको छ।बिहीबार नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा एउटा टोली विद्युत कार्यालय पुगेको थियाे। विद्युत अनियमित रोक्न र लो भोल्टेजको समस्या समाधानका लागि दबाब दिन टोली विद्युत कार्यालय पुगेको हाे।

संघका अध्यक्ष अब्दुल वाहिद मन्जरीको अगुवाइमा गएको टोलीले विद्युत अनियमितलाई तत्काल समाधान गर्न माग गरेको थियो।नेपालगञ्जमा भारतबाट १२ र नेपालबाट १८ मेगावाट विद्युत आइरहेको छ। यतिले नेपालगञ्ज र आसपासलाई पुग्ने विद्युत कार्यालयले जनाएको छ। विद्युत पुग्ने मात्रामा आइरहँदा बत्ती भने छिनछिनमा जाने र लो भोल्टेज आउने समस्या रहेको छ।

विद्युत प्राधिकरण केन्द्र, नेपालगञ्ज वितरण शाखाका प्रमुख दिवाकर प्याकुरेलले केही समस्याले गर्दा विद्युत अनियमित भएकाले त्यसलाई समाधान गर्नतिर लागेको बताए।

भारतले १२ मेगावाटसम्म विद्युत दिइरहेको छ। नेपालले त्यो सबै छोड्न सकेको छैन। भारतले १२ मेगावाटसम्म विद्युत दिए पनि एघार, साढे एघारसम्म मात्रै छोडिरहेको विद्युत कार्यालयका कर्मचारीहरु बताउँछन्। १२ मेगावाट नै छोड्दा तार चुडिने डर रहेको छ।

भारतले दिएको लाइन बिपीचोकदेखि दक्षिणतिर सप्लाइ हुन्छ। यो नेपालगञ्ज वितरण केन्द्रबाट छोडिन्छ। बिपीचोकदेखि उत्तरतिर बसपार्कमा रहेको सबस्टेसनबाट लाइन छोडिन्छ। यहाँ नेपालको लाइन आउँछ। भारतबाट आएको भन्दा नेपालबाट आएको लाइन जोडिएका क्षेत्रमा बढी समस्या हुने गरेको छ।

भारतले दिनमा तीन चार पटक उतैबाट बत्ती काट्ने गर्दछ। बुधबार तीन पटक काटेको थियो। बिहीबार बिहान दश बजेभित्रमा दुई पटक गरेर ३४ मिनेट बत्ती काटेको थियो। भारतले बत्ती काट्दा विद्युतका कर्मचारीले केही गर्न सक्दैनन्।

कार्यालय प्रमुखले भारतमा सम्पर्क गर्नुपर्छ। कतिबेला त भारतीय कर्मचारीले फोनसमेत उठाइदिँदैनन्। बिहीबार बिहान ६.५० देखि ७.२ बजे र ७.४५ देखि ८.७ बजेसम्म भारतबाटै बत्ती गएको थियो।

भारतको नानपाराबाट ३३ केभी प्रशारण लाइन जोडिएको छ। ३३ भनिए पनि भारतले २४ केभीसम्म छोड्ने गरेको छ। यो लो भोल्टेजले गर्दा नेपालगञ्जमा समस्या हुने गरेको छ। कोहलपुर हुँदै बसपार्क सबस्टेसनमा आउने नेपाली लाइन त अझ बढी अनियमित रहेको छ।

बढ्दो गर्मीसँगै होटल, कार्यालय, घरघरमा जोडिएको एसी, फ्रिज र नेपालगञ्जका हरेक चोकमा जडान गरिएको हाइटेन्सन लाइनले बढी बत्ती तान्ने गरेको छ। लो भोल्टेजले हुने समस्या, तार चुडिने र ट्रान्सफर्मर बिग्रिएर पनि बत्ती अनियमित भइरहेको छ।

गर्मी महिनामा नेपालगञ्जमा अत्यधिक गर्मी हुने र बत्तीको समस्या देखा पर्ने गर्दछ। यो अहिलेको मात्रै नभएर सधैँको समस्या हो। भारतले चाहिने जति विद्युत दिँदा पनि ५० वर्षअघि जडान गरिएका तारहरू परिवर्तन गर्न नसक्दा समस्या ज्यूँका त्यूँ रहेका छन्।

प्रतिक्रिया दिनुहोस