नयाँ पाठ्यपुस्तक छपाइमा सरकारको लापर्बाही, पुस्तक नहुँदा पढाइ प्रभावित

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १२ : ३०
नयाँ पाठ्यपुस्तक छपाइमा सरकारको लापर्बाही, पुस्तक नहुँदा पढाइ प्रभावित

काठमाडौं । सरकारले नयाँ पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। जेठ १ गतेबाट नै शैक्षिक सत्र शुरु हुने भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीहरू कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको हो। विशेष गरी कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यपुस्तक सरकारले लागू गरेको छ।

तर, अहिलेसम्म पनि छपाइ कार्य पूरा नहुँदा विद्यार्थी र शिक्षकहरूमा अध्ययन, अध्यापन कसरी गर्ने भन्ने अन्योलता छाएको छ। स्थानीय निर्वाचनको तयारीमा सरकार लिप्त रहनु र शैक्षिक क्षेत्रमा आवश्यक चासो नराख्नुले जेठ पहिलो सातासम्म पनि विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेको अध्यापकहरू बताउँछन्।

अबका ३ महिनासम्म पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाउने सम्भावना नरहेको अध्यापकहरूको बुझाइ छ। विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले सरकारले शैक्षिक क्षेत्रमा हेलचक्राइँ गरेर लाखौँ बालबालिकाहरूको भविष्यमा अन्योल पैदा गरेको बताए।

प्रधानाध्यापक कँडेलले कक्षा १ देखि १० सम्मकै पाठ्यपुस्तकहरू नछापिएकाले विद्यार्थीहरुले पढ्न पाउने अधिकारबाट वञ्चित हुनुपर्ने स्थिति आएको बताए।पाठ्यपुस्तक नभएपछि पाठ्यक्रमको आधारमा पठनपाठन गर्ने र अग्रज विद्यार्थीहरूका पुस्तक मागेर नयाँ विद्यार्थीहरुलाई दिने योजना विद्यालयको योजना छ।

नयाँ पाठ्यपुस्तक लागू हुने कक्षाका लागि भने विद्यालयले पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा जुन सफ्ट कपि डाउनलोड गरी विद्यार्थीहरुलाई तत्कालका लागि पठनपाठनको व्यवस्था मिलाउने उनले बताए। 

शहरी क्षेत्रमा क्षणिक समाधानका लागि यो उपायले काम गरे पनि दूरदराजमा यो उपाय सही सावित हुन सक्दैन। जसकारण पनि शिक्षाविद्हरूले आगामी दशैँसम्म दुर्गमका विद्यार्थीहरूले पाठ्यपुस्तकबिना नै अध्ययन गर्नुपर्ने बाध्यता रहेकोप्रति सरकार गम्भीर बन्न सुझाएका छन्।प्रधानाध्यापक कँडेलले कक्षा ४, ७ र ९ को नयाँ पाठ्यपुस्तक लागू भएकाले यी कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई अध्यापन गराउन समस्या भएको बताए। 

 

 

प्रतिक्रिया दिनुहोस