काठमाडौँ ।नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडी-नेपालकी प्रमुख सेपिडे केभान्शाडका साथ हिजो मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन समारोहमा सहभागी भएका छन् ।
वि. सं. २०७२ सालको महाभूकम्पबाट प्रभावित जिल्लाहरूमा २९ वटा स्थायी विद्यालय र सात वटा स्वास्थ्य सेवा संरचनाहरूको पुनर्निर्माणमा अमेरिकी सरकारले युएसएआईडीमार्फत् नेपाल पुनर्निर्माण प्राधिकरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरेको हो । यो कार्यक्रमसँगै काठमाडौँ उपत्यकाबाहिर युएसएआईडीद्वारा गरिएको भूकम्पपछिको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै राजदूत बेरीले भने, “सबैभन्दा बढी अभावमा रहेका नेपाली जनताको स्वास्थ्य सेवा र शिक्षामा पहुँचलाई अमेरिकी सरकारले प्राथमिकतामा कायम राखेको छ । यसै प्रतिबद्धताको एक हिस्सा स्वरूप मकवानपुरका सर्वाधिक विकट क्षेत्रमध्ये एकमा यस स्वास्थ्य चौकीको निर्माण गर्न हामीले नेपाल सरकारसँग साझेदारी गर्यौँ, जसले सबैभन्दा विपन्न समुदायहरूमध्ये एकलाई फाइदा पुर्याउने छ । यसले चिरस्थायी मित्रता र अझ सुरक्षित नेपालको पुनर्निर्माणमा मद्दत गर्न अमेरिकी जनताको निरन्तर सहयोग दर्साउँछ ।“
वि. सं. २०७२ को महाभूकम्पपश्चात्को प्रतिकार्य तथा पुनर्लाभमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १२ : ३२
लेखकबाट थप