काठमाडौं । विश्वका १४ वटै हिमाल आरोहण गर्ने अभियानमा रहेकी कीर्तिमानी आरोही माया शेर्पाले विश्वको पाँचौं अग्लो हिमाल मकालु (८,४८५ मिटर)को सफल आरोहण गरेकी छन् ।
यसअघि उनले १४ वटै हिमालमध्ये ६ वटा हिमाल सगरमाथा, केटु, कञ्चनजंगा, मनासलु, चो ओयु, अन्नपुर्णको सफल आरोहण गरिसकेकी छन् । बिहीबार (मे १२) का दिन आफूले बिहान करिब ७ बजे मकालु हिमालको सफल आरोहण गरेकी आरोही मायाले जानकारी दिए ।
नेपाल पर्वतारोहण संघ (एनएमए)की द्वितीय उपाध्यक्ष तथा सगरमाथा आरोही संघको अध्यक्षसमेत रहेकी उनले पदयात्रा गर्दै बेस क्याम्प पुगेकी थिइन् । ओखलढुङ्गाको पात्ले– ५, रिपालकी ४३ वर्षीया आरोही शेर्पा विश्वका १४ अग्ला हिमाल आरोहण गरेर नयाँ कीर्तिमान बनाउने योजनामा छिन् ।
मकालु हिमाल आरोहण गर्नु जानुअघि उनले आमा भइसकेका महिलाले हिमाल चढ्न सक्दैन भन्ने सोच परिवर्तन गर्न आफू मकालु चढ्न लागेको बताएकी थिइन् । शेर्पाले भनेकी थिइन्, ‘आमा भएपछि हाम्रो समाजमा हिमाल चढ्न सक्दैन् । महिलाहरु उमेर ढलेपछि चढ्न सक्दैन् भन्ने सोचलाई परिवर्तन गर्नुपर्छ भनेर म १४ वटै हिमाल आरोहण गर्न लागेको हो ।’आठ हजार मिटरभन्दा अग्लासहित कैयौँ हिमाल आरोहण गर्ने साहसिक महिला माया शेर्पा सन् २००१ देखि ट्रेकिङ गाइड पेशाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले हिमाल आरोहण भने सन् २००३ देखि सुरु गरेकी हुन्।
समाजमा महिलाले पनि केही गर्न सक्छ भन्ने उदाहरण दिन यस क्षेत्रमा निरन्तर लागेको उनी बताउँछिन । नेपाली समाज तथा घरपरिवारले महिलालाई हिमाल आरोहणमा जान सजिलै अनुमति नदिने अनुभव सुनाउँदै शेर्पाले सोही कारण यो कार्य सहज नभएको बताउँछिन् ।
उनी भन्छिन्, ‘महिलामाझ एक असल उदाहरण बन्ने कोशिष गरिरेहेकी छु जसले गर्दा भोलिका दिनमा धेरै नेपाली महिला आरोही जन्मिने छन्। कतिन्जेलसम्म सकिन्छ हेर्दै जाऔँ । शरीर र स्वास्थ्यले साथ दिइन्जेल आरोहणमा निरन्तर लाग्नेछु ।’ मायाले पहिलोपल्ट सन् २००३ मा आमाडाब्लम हिमाल आरोहण गरिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १४ : १९
लेखकबाट थप