काठमाडाैँ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतमा रहेको नारायणी अस्पतालका लागि खरिद गर्न लागिएको एमआरआई मेसिनमा सेटिङ गरेको तथ्य फेला परेको छ। ३० करोड रुपैयाँमा खरिद गर्न लागिएको थ्री टेस्ला एमआरआईको स्पेसिफिकेसन बनाउँदा एउटा मात्र कम्पनीलाई मिल्ने गरी सेटिङ गरिएको तथ्य फेला परेको हो।
स्वास्थ्यखबरलाई प्रप्त विवरण अनुसार यूनाइटेड इमेजिङ कम्पनीलाई मात्र मिल्ने गरी स्पेसिफिकेसनमा सर्तहरु राखिएको छ। 'एमआरआई खरिदका लागि आएको बजेटमा स्वास्थ्यमन्त्री विरोध खतिवडाको टिमले यूनाइटेड इमेजिङको एमआरआईसँग मिल्ने गरी सेटिङ गरिएको हो,' स्रोत भन्छ, 'बजारमा उपलब्ध हुने एमआरआईको भन्दा झण्डै ६ करोड बढी लागत पहिले नै राखिएको छ। योसँगै खरिदमा १५ प्रतिशतभन्दा बढी कमिसनको कुरा पनि छ।'
स्रोतले उपलब्ध गराएको विवरण अनुसार थ्री टेस्लाको एमआरआईका लागि स्पेसिफिकेसनमा उपकरणको बोर साइज (गोलाई) ७५ सेमी तोकिकएको छ। यो बोर साइजको मेसिन यूनाइटेड इमेजसँग मात्र छ। विश्वबजारमा बिक्रि वितरण भइरहेका अधिकांश एमआरआईको बोर साइज ७० सेमी छ। तर नारायणीका लागि यूनाइटेडसँग मात्र मिल्ने गरी प्रष्ट रुपमा ७५ साइजको भनेर नै तोकिएको छ।
'स्पेसिफिकेसनमा बोर साइज ७० वा त्यो भन्दा माथि भनिएको भए धेरै कम्पनीहरु प्रतिस्पर्धामा आउने थिए', स्रोतले भन्यो, 'तर यहाँ त ३० करोडको सामान किन्दा ८ देखि १० करोड अनियमितता गर्ने गरी खेल खेलिएको छ।'
स्रोतका अनुसार चुनावको समय भएकाले स्वास्थ्य मन्त्री विरोध खतिवडाकै दबाबमा स्पेसिफिकेसनमा एउटा मात्र कम्पनीलाई मिल्ने बनाइएको हो। 'चुनावको खर्च उठाउने भन्दै सेटिङ गरिएको छ', स्रोतले भन्यो।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले स्पेसिफिकेसन बनाउने लगायतका सबै काम मन्त्रालय तथा विभागबाट नै हुने भएकाले सेटिङका विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए।
'विभागले होकी मन्त्रालयले हो दुई जना बायोमेडिकल इन्जिनियरको कमिटी बनाएर स्पेसिफिकेसनहरु सबै उतैबाट गरेर, त्यो हामीलाई पठाएर टेण्डर प्रक्रियामा गएको हो,' उनले भने, 'त्यो स्वीकृत गर्ने पनि हाम्रो अधिकार छैन। टेण्डर मात्र खोल्दिने र त्यसपछि आएका निवेदनहरु मन्त्रालयमा पठाउने र त्यहाँ विज्ञहरुको टोली बस्छ। उनीहरुले एनालाइसिस गर्छन्। कसैलाई क्वालिफाइ गर्यो भने यो भयो, भएन भने कसैको पनि भएन भन्ने खबर आउँछ। नारायणी अस्पतालको कुनै त्यस्तो रोल छैन यसमा।'
पछिल्लो समय स्वास्थ्यका हरेक खरिदमा व्यापारिसँगको सेटिङमा स्पेसिफिकेसन बनाउने गरिएको पाइएको छ। स्वास्थ्यखबरले श्रृंखलाबद्ध रुपमा अनियमितताको विषयमा समाचार प्रकाशित गर्दै आइरहेको छ। यसअघि स्वास्थ्यखबरले तीनवटा श्रृंखला प्रकाशित गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १२ : २५
लेखकबाट थप