काठमाडौं।नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको 'ए मेरो हजुर ४' फेरि हलमा फर्किएको छ। लगातार तीन हप्ता सफल रूपमा प्रदर्शन भएको फिल्म अन्य नयाँ फिल्म प्रदर्शनमा आएपछि हलबाट उत्रिएको थियो। प्रदर्शनमा आएका नयाँ फिल्ममा दर्शकको उपस्थिति न्यून भएपछि 'ए मेरो हजुर ४' लाई फेरि हलमा ल्याइएको हो।
कोरोना महामारी सुरु भएयता हलमा अहिलेसम्मकै सबैभन्दा बढी चहलपहल वैशाख १ देखि सुरु भएको थियो। यसको मुख्य कारण 'केजिएफ च्याप्टर २' हो भने नेपाली फिल्म 'ए मेरो हजुर ४' अर्को कारण हो। बहुप्रतीक्षित कन्नड फिल्म 'केजिएफ २' हेर्न आउने दर्शकको अत्यधिक चाप थियो।
त्यस्तै 'ए मेरो हजुर ४' हेर्न आउने दर्शकको संख्या पनि उल्लेख्य थियो। प्रदर्शन अघि 'केजिएफ २' सँग मिति जुधेकै कारण लगानी पनि सुरक्षित नगर्ने हो कि भन्ने उठेका बेला फिल्मले लगानी सुरक्षित मात्र गरेन राम्रो मुनाफा पनि कमायो। दुवै फिल्म अहिले पनि हलमा छन्।
त्यसयता प्रदर्शनमा आएका 'हिरोपन्थी', 'रनवे ३४', 'बिस्ट' लगायतका भारतीय फिल्मले दर्शक तान्न सकेनन्। 'मन्त्र', 'लक्का जवान', 'षटकोण' जस्ता फिल्ममा पनि दर्शकको उपस्थिति न्युन छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज इन द म्याडनेस अफ मल्टिभर्स' ले शो त अधिकतम पाएको थियो तर, फिल्मको क्रेज सुरुको दुई दिन मात्र देखियो। 'डक्टर स्ट्रेन्ज' कै कारण घटाइएको 'केजिएफ २' को शो फेरि बढाउन थालिएको छ।
हलबाट उत्रिसकेर फर्केको 'ए मेरो हजुर ४' मा दर्शकको संख्या सन्तोषजनक नै छ। झरना थापाको निर्देशन, सुनील कुमार थापाको निर्माण तथा सुहाना थापा र अनमोल केसीको मुख्य भूमिका रहेको फिल्मले अहिलेसम्म ६ करोडमाथि कारोबार गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १० : २०
लेखकबाट थप