सुरक्षाकर्मीको सहयोगमा १४ दिनपछि फोहोर व्यवस्थापन

रासस

शनिबार, २४ बैशाख २०७९, १४ : ४९
सुरक्षाकर्मीको सहयोगमा १४ दिनपछि फोहोर व्यवस्थापन

काठमाडौं । पासाङल्हामु राजमार्गअन्तर्गत स्थानीयको निरन्तरको अवरोधपछि सुरक्षाकर्मीको सहयोगमा आजबाट काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम पुनः सुरु भएको छ । स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौँ महानगरपालिकाको पहलमा ३०० सुरक्षाकर्मी खटाएर १४ दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य आजबाट गरिएको हो ।

पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले उक्त स्थान भएर फोहोरको गाडी जान नदिँदा काठमाडौँको १८ स्थानीय तहको फोहर सडकमा नै थियो ।  

पटकपटकको छलफलमा पनि स्थानीयसँग सहमति जुट्न नसकेपछि कामपाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी खटाएको हो । पछिल्लो समय यही वैशाख ११ गतेदेखि पुनः काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य रोकिएको थियो । हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको हो । 

फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा र लामो समयसम्म सडकमा नै फोहोर रहँदा समस्या सुरु भएकाले सुरक्षाकर्मीको सहयोगमा व्यवस्थापन कार्य गरिएको कामपा वातावरण विभागका प्रमुख सरिता राईको भनाइ छ । उनका अनुसार विसं २०७० देखि सुरु गरिएको सडक हालसम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीयको पटकपटकको अवरोधका कारण फोहर विसर्जनमा अवरोध हुँदै आएको छ । 

“यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ”, राईले भने, “त्यसका लागि बाटो छिटो मर्मत गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ ।” दुई वर्षको लागि भन्दै विगत १५ वर्षदेखि फोहर सिसडोलमा फोहर व्यवस्थापन भइरहेकाले उक्त स्थान पनि पूर्णरुपमा भरिएको छ । “तत्काल त्यसको पनि विकल्प खोज्नुपर्छ”, राईले भने ।

प्रतिक्रिया दिनुहोस