काठमाडौँ। सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी देशभर सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि अस्पताल तथा स्वास्थ्य संस्थाका विषयमा के हुने भन्ने निर्णय हुन सकेको छैन। स्वास्थ्य मन्त्रालयले अस्पतालको बहिरंग सेवा (ओपिडी) आइतबार खुल्ने वा नखुल्ने भन्ने विषयमा निर्णय गर्न नसकेपछि स्वास्थ्यसँग सम्बन्धित पेशागत संघसंगठन र अस्पताल निर्देशकहरुलाई छलफलका लागि बोलाएको छ।
मन्त्रालयले बिहीबार अस्पताल निर्देशकहरु र पेशागत संघसंगठनका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ। मन्त्रालयले छलफलका लागि उनीहरुलाई पत्र पठाइसकेको छ। छलफल मन्त्रालयको हलमा बिहीबार १ बजे हुने कार्यतालिका रहेको छ।
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले ओपिडी सेवा आइतबार हुने वा नहुने? हुने हो भने कसरी? नहुने हो भने अन्य दिनको ओपिडी सेवा बढाउने वा नबढाउने? लगायतका विषयमा छलफल गरेर मात्र निर्णयमा पुग्ने तयारी भएको जानकारी दिए।
शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णयको नेपाल चिकित्सक संघले स्वागत गरेको छ। संघका महासचिव डा बद्री रिजालले विज्ञप्ति जारी गर्दै बिरामीलाई सेवा दिनुपर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन्।
आइतबार बिदा दिने निर्णयको विषयमा सरकारी चिकित्सक संघले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। संघले आइतबार बिदा दिने निर्णय स्वास्थ्य क्षेत्रमा लागू नगरिने भन्ने विषयमा ध्यानाकर्षण गरेको छ। संघले विज्ञप्ति जारी गर्दै आइतबार ओपिडी तथा अस्पतालहरु खुल्ने हो भने वेशष थप सुविधा, अतिरिक्त सेवा तथा प्रोत्साहन भत्ता दिनूपर्ने माग गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ बैशाख २०७९, १३ : ४२
लेखकबाट थप