महोत्तरी । महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन भइ रहेको छ । वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालनमा रहँदै आएको छ ।
कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा एकमात्र प्रधानाध्यापक शुभकरण यादव मावि तहका शिक्षक हुनुहुन्छ । विद्यालयमा निमावि तहका कुनै पनि शिक्षक छैनन् । प्रावि तहमा रहेको तीन दरबन्दी, दुई राहत, दुई बालविकास र एक कार्यालय सहयोगी गरी नौजना शिक्षकको भरमा विद्यालय सञ्चालन रहँदै आएको छ । जसका कारण पठनपाठन प्रभावित हुनाका साथै विद्यालयमा कार्यसम्पादन गर्नका लागि कठिनाइ हुँदै आएको विद्यालय स्रोतले जनाएको छ । विद्यालयमा कम्प्युटर कक्षा अहिलेसम्म पनि सञ्चालन हुन नसकेको विद्यार्थीले बताएका छन् ।
विद्यालयमा कम्प्युटरको व्यवस्था भए तापनि शिक्षकको अभावका कारण पठनपाठन हुन नसकेको प्रधानाध्यापक शुभकरण यादवले स्वीकार गर्नुभयो । उहाँले आफूले यस सम्बन्धमा स्थानीय सरोकारवाला निकाय, जिल्ला शिक्षा कार्यालय महोत्तरी र शिक्षासँग सम्बन्धित हरेक निकायमा ध्यानाकर्षण गराउँदासमेत कहीँकतैबाट कुनै किसिमको सुनुवाइ वा पहलकदमी हुन नसकेको गुनासो गर्नुभयो ।
यस सम्बन्धमा नगर शिक्षा समितिका सदस्यसमेत रहनुभएको गौशाला नगरपालिका–१० का वडाध्यक्ष शेख जलिलले अबको केही दिनमै नगरपालिकाले गर्ने शिक्षक दरबन्दी मिलानमा सो विद्यालयले पहिलो प्राथमिकता पाउने बताउनुभयो । गौशाला नगरपालिकामा शिक्षा संयोजक गणेश महतो कार्यालयमा लामो समयदेखि उपस्थित नभएपछि यहाँका शैक्षिक गतिविधि प्रभावित हुँदै आएको नगरपालिकाको कार्यालयले जनाएको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस