काठमाडौं ।बागमती प्रदेश सरकारले व्यापारीसँगको मिलेमतोमा कमिसनका लागि जनशक्ति र पूर्वाधार नै नभएको अस्पतालमा सिटी स्क्यान मेसिन खरिद गरेर पठाउने प्रक्रिया अगाडि बढाएको तथ्य फेला परेको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १२८ स्लाइस क्षमताको पाँच वटा सिटी स्क्यान मेसिन एउटा मात्र कम्पनीसँग मिल्ने गरी स्पेसिफिकेसन बनाएर खरिद प्रक्रिया अगाडि बढाएको तथ्य फेला परेको हो।
केन्द्रले १२८ क्षमताको पाँच वटा सिटी स्क्यान मेसिनका लागि ३२ करोड लागत अनुमान गरेको छ। स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार केन्द्रले उक्त बजेटमा व्यापारीसँगको मिलेमतोमा तोसिबा कम्पनीको सिटी स्क्यान मेसिनलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएको पाइएको छ। १२८ क्षमताको सिटी स्क्यानमा न्यूनतम ७ एमएचयूको ट्यूब चाहिन्छ। ८ एमएचयूको ट्यूब हुनु राम्रो मानिन्छ। तर केन्द्रका निमित्त निर्देशक डा अर्जुन सापकोटाले व्यापारीसँगको मिलेमतोमा १२८ क्षमताको सिटीमा पाँच एमएचयूको ट्यूब हुनुपर्ने सर्त राखेका छन्। १२८ मा पाँच एमएचयूको ट्यूब तोसिबा कम्पनीसँग मात्र छ। पाँच एमएचयूको ट्यूब १६ स्लाइसको सिटीमा राख्ने गरिन्छ। तर केन्द्रका निमित्त निर्देशकले भने १२८ स्लाइसको सिटीमा १६ स्लाइसमा मिल्ने गरी सर्त राखेका छन्।
यति मात्र होइन १२८ स्लाइसको सिटीका लागि कुलिङ रेट १५ हुनुपर्ने बायोमेडिकल इन्जिनियरहरु बताउँछन्। तर केन्द्रले यसका लागि कुलिङ रेट ८०० मात्र तोकेको छ। यस्तै उक्त क्षमताको सिटीका लागि ७० किलोवाट क्षमताको जेनेरेटर चाहिनेमा केन्द्रले ५० किलोवाट क्षमताको हुनुपर्ने भनेर राखेको छ।
'तोसिबासँग मात्र मिल्ने गरी यस्ता धेरै कुराहरु मिलाइएको छ,' स्रोतले भन्यो, '१२८ स्लाइसको सिटी भनेको कार्डियाक मुटु का लागि उपयुक्त हो। तर यहाँ कमिसनका लागि कार्डियाक नै अनिवार्य गरिएको छैन।' स्रोतका अनुसार सुरुमा केन्द्रले यी सबै कुराहरु राखेर लागत अनुमान ३२ करोडको बनाएको थियो। तर पछि तोसिबासँग ३२ करोडमा कम्तिमा १५ प्रतिशत कमिसन र अन्य शर्तहरु राखेर (कार्डियाक हटाउने, जेनेरेटर कम क्षमताको, मर्मतको अवधि घटाउने, ट्यूब र कुलिङ रेट घटाएर) थप दुई करोड भन्दा बढी रकम खाने खेल गरिएको छ।
जनशक्ति र भवन नै छैन, थन्किने छन् सिटी
केन्द्रले सिन्धुली अस्पताल, बकुलहर रत्ननगर अस्पताल चितवन, धादिङ अस्पताल, नुवाकोट अस्पताल र भक्तपुर अस्पतालका लागि १२८ स्लाइसको सिटी क्यान मेसिन खरिद गर्न प्रक्रिया अघि बढाएको हो।
तर यी अस्पतालहरुमा सिटी स्क्यान चलाउने दक्ष जनशक्ति रेडियोलोजिष्ट, रेडियोग्राफर लगायत तालिमप्राप्त जनशक्ति नै नभएको पाइएको छ। यसका साथै भवन लगायतका पूर्वाधार समेत नभएको पाइएको छ।
प्रदेश सरकारले सिटी स्क्यान मेसिन उपलब्ध गराउने भनेको जिल्ला अस्पताल धादिङमा जनशक्ति नै नभएको अस्पतालका निमित्त मेसु डा मधुकर दाहालले बताए।
‘सिटी स्क्यान राख्ने ठाउँ अहिले छैन, सिटी स्क्यानलाई सुरक्षित गर्न एउटा भवन बनाउने तयारी गरिएको छ,’ उनले भने, ‘जनशक्तिको कुरामा कम्तिमा एकजना रेडियोलोजिष्ट चाहिने हो, तर दरबन्दी मात्रै छ, रेडियोलोजिष्ट भने छैनन्।जिल्ला अस्पतालमा हरेक विधामा एक–एक जनाको दरबन्दी भएपनि कुनैपनि विधामा कन्सलटेन्ट तहका चिकित्सक नभएको उनले बताए।
दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नहुदा लक्ष्य अनुसार आधारभूत स्वास्थ्य सेवा नै प्रदान गर्न समस्या भएको डा दाहाले बताए।उनले भने, ‘सिटी स्क्यान चलाउने रेडियोलोजिष्ट, टेक्नोलोजिष्ट कोही पनि छैनन्, दरबन्दी छ, तर विशेषज्ञ चिकित्सकहरु छैनन्, जसले गर्दा बेसिक हेल्थ सर्भिस दिन पनि समस्या परिरहेको छ।’सरकारले जनताको स्वास्थ्य समस्या समाधानका लागि भन्दापनि चुनावी प्रचार र अन्य आवश्यकताका लागि सिटी स्क्यान मेसिन उपलब्ध गराउन लागेको उनको आरोप छ।
‘सरकार बेसिक सर्भिसमा नलागेर चुनावी दौरानको हाइफाइमा लागेको छ,’ उनले भने, ‘वीर अस्पतालमै सिटी स्क्यान नियमति नचलेर समस्या छ, धादिङमा त जनशक्ति नै नभइ चलाउने कुरा गफ मात्रै हो।’
उनले जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको पदपूर्ति नगराउँदासम्म सिटी स्क्यान मात्रै राखेर बिरामी रेफर गर्नुपर्ने बाध्यताको अन्त्य हुन नसक्ने बताए।
नुवाकोट अस्पतालका मेसु डा दिपेन्द्र पाण्डेले पनि अस्पतालमा सिटी स्क्यान चलाउने जनशक्ति र मेसिन राख्ने ठाउँ नभएको बताए।उनले भने, ‘हामीसँग सिटी स्क्यान चलाउने जनशक्ति छैन, मेसिन राख्ने ठाउँ पनि छैन।’
केन्द्रले सिटी स्क्यान वितरण गर्न लागेको सिन्धुली अस्पतालमा मेसिन चलाउने स्थायी दरबन्दीको जनशक्ति नभएको अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा उमेश प्रधानले बताए।डा प्रधानका अनुसार अस्पतालमा हाल एकजना करार सेवाका रेडियोलोजिष्ट मात्र छन्। यस्तै एक्सरे टेक्निसियन मात्रै रहेको तर सिटी स्क्यान चलाउने तालिम प्राप्त टेक्निसियन भने नरहेको उनले बताए। प्रदेश सरकारले नै उपलब्ध गराउने मेसिन भएकाले जनशक्तिको व्यवस्थापन र मेसिन राख्ने भवन व्यवस्थानमा प्रदेश सरकारले नै सहयोग गर्नुपर्ने उनले जोड दिए।
बीपी राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाका केसहरु धेरै हुने भएकाले अस्पताल सिटी स्क्यान मेसिन भने आवश्यक भएको डा प्रधानको भनाइ छ। तर स्थायी दरबन्दीका जनशक्तिको व्यवस्थापन नभए मेसिन भएर पनि नियमित सञ्चालन गर्न भने समस्या पर्न सक्ने उनले बताए।
‘यो क्षेत्रमा धेरै दुर्घटना हुने भएकाले सिटी स्क्यान मेसिन त आवश्यक छ, तर आवश्यक प्राविधिक जनशशक्तिको स्थायी दरबन्दी पदपूर्ति नभएसम्म भोलिका दिनमा नियमित सेवा चलाउन भने समस्या पर्नसक्छ।’
यस्तै बकुलहर रत्ननगर अस्पतालमा पनि रेडियोलोजिष्ट २ जना भएपनि टेक्नोलोजिष्ट भने नभएको अस्पतालका मेसु डा विश्ववन्धु बगालेले बताए। उनले सिटी स्क्यान मेसिन राख्ने ठाउँ पनि साँगुरो रहेको जानकारी दिए।
उनले भने, ‘एकजना स्थायी र एकजना विकास समितिको गरी २ जना रेडियोलोजिष्ट त हुनुहुन्छ, तर सिटी स्क्यान राख्ने ठाउँ भने साँगुरो छ, अब त्यही साँगुरोमा एड्जस्ट गर्ने भनिएको छ।’उनले बकुलहर अस्पताल प्रदेश मातहतमा भएपनि चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी स्थानीय तह मातहतका भएकाले कर्मचारी व्यवस्थापनमा समस्या नै भएको बताए।
प्रदेश सरकारले सिटी स्क्यान मेसिन उपलब्ध गराउने भनेको भक्तपुर अस्पतालमा सेवा सञ्चालन गर्न २ रेडियोलोजिष्ट रहेको अस्पतालका निमित्त मेसु डा श्रीधर अर्यालले बताए। तर सिटी स्क्यान चलाउने तालिम प्राप्त टेक्निसियन भने नभएको उनले जानकारी दिए।सिटी स्क्यान मेसिन उपलब्ध भएमा एक्सरे मेसिन चलाउने टेक्निसियनलाई नै तालिम दिएर सेवा सञ्चालन गर्न सकिने उनले बताए।
प्रदेश आपूर्ति केन्द्रका निमित्त निर्देशक डा अर्जुन सापकोटाले भने अस्पतालहरुको माग अनुसार नै सिटी स्क्यान खरिदका लागि प्रक्रिया अघि बढाइएको बताए।उनले भने, ‘अस्पतालहरुले हामीलाई सिटी स्क्यान चाहियो, हामीसँग ठाउँ छ, हामीले चलाउन सक्छौ भनेर माग गरेको आधारमा हामीले सिटी स्क्यान खरिद गर्न लागेको हो।’
भक्तपुर अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताल, त्रिशुली अस्पताल सबैमा सिटी स्क्यान मेसिन चलाउने जनशक्ति रहेको उनको दाबी छ।यस्तै सिटी स्क्यान राख्ने भवन नभएका अस्पताललाई भौतिक पूर्वाधार बनाउने बजेट पनि राखिएको डा सापकोटाले बताए।
सिटी स्क्यान सञ्चालन गर्ने जनशक्ति नभएका अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले जनशक्ति पदपूर्ति गर्न आवेदन खुलाएको डा सापकोटाले बताए।प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन थन्काएर राख्न नपर्ने दाबी समेत उनले गरे।आर्थिक चलखेलका लागि मेसिन खरिद गर्न लागिएको कुरा गतल भएको उनको भनाइ छ।
‘सिटी स्क्यान मेसिन कमिसनका लागि खरिद गर्न लागिएको आरोप गलत आरोप हो,’ उनले भने, ‘अस्पतालका लागि यो अत्यावस्यक कुरा भएकाले प्रदेश सरकारले खरिद गर्न लागेको हो, यो खरिद र चुनावको कुनै तालमेल छैन।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, १५ : १४
लेखकबाट थप