‘प्रेमगन्ज’ नेपाल र भारतमा एकैसाथ चल्ने

रासस

आइतबार, ११ बैशाख २०७९, ११ : ४५
‘प्रेमगन्ज’ नेपाल र भारतमा एकैसाथ चल्ने

काठमाडौं ।नेपाली कथानक चलचित्र ‘प्रेमगन्ज’ नेपाल र भारतमा सँगै चल्ने भएकाे छ।

चलचित्र चौतारी र ड्रिम्स थिएटर मोसन पिक्चरबीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किम लगायतका सहरमा १०० भन्दा धेरै स्क्रिनमा एकैसाथ प्रदर्शन हुने भएकाे हाे।पहिलो चरणको प्रदर्शन सकारात्मक देखिएमा दोस्राे चरणमा भारतका अन्य ठूला सहरहरूमा पनि प्रदर्शन हुनेछ।

प्रेमगन्ज नेपाल-भारत दुवै देशमा एउटै मिति भाद्र ३ अर्थात अगस्ट १९ मा एकैसाथ प्रदर्शन हुनेछ।लाखौं नेपाली र नेपालीभाषी बसोबास गर्ने भारतमा ‘प्रेमगन्ज’ चलचित्र नेपाली भाषामा नै प्रदर्शन हुन लागेको हो। चलचित्रमा अङ्ग्रेजी सब टाइटल भने हुनेछ।

परिच्छेद सेनको निर्देशनमा बनेको यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ।

यस्तै, फिल्ममा पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ।यस चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। सञ्जय लामाको छायांकन रहेको चलचित्र डेढ करोडको लगानीमा बनेको हो।यसअघि निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस