अनुदानको भर पर्दा ५ देखि ११ वर्षका बालबालिकाले पाएनन् कोरोनाविरुद्धको खोप

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, १२ : ५३
अनुदानको भर पर्दा ५ देखि ११ वर्षका बालबालिकाले पाएनन् कोरोनाविरुद्धको खोप

काठमाडौं । सरकारले १८ वर्षमाथिका नागरिकलाई चैत मसान्तभित्र कोभिड १९ विरुद्धको खोप दिइसक्ने घोषणा गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गको ९० प्रतिशतले पूर्ण खोप लगाएकोभन्दै खोप अभियान सफल भएको दाबी गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले प्रत्येक व्यक्ति सुरक्षित नहुन्जेल कोभिड १९ बाट कोही पनि सुरक्षित नहुने जनाएको छ । तर, नेपालको जनसंख्याको ठूलो हिस्सा ओगटेका बालबालिका भने अहिले पनि कोभिड १९ विरुद्धको खोप लगाउनबाट वञ्चित छन् ।सरकारले ४० लाख बालबालिकालाई दिन ८४ लाख डाेज खोप फाइजर खोप खरिद गर्ने घोषणा गरेको ४ महिना पूरा भइसक्दा पनि खोप आउने टुंगो लागेको छैन । 

७० प्रतिशत खोप अनुदानमा 
०७७ माघयता नेपालमा आजसम्म पाँच करोड ३३ लाख ८१ हजार ५७० डोज खोप भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । त्यसमध्ये नेपालले पहिलोपटक २०७७ फागुनमा भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज कोभिसिल्ड खोप ४ डलर प्रतिडोजका दरले खरिद गरेको थियो, जसमध्येको १० लाख डोज खोप ०७८ असोजमा मात्रै आइपुगेको थियो ।

०७८ साउनमा  सरकारले चीनको सिनोर्फाम कम्पनीसँग गोप्य सम्झौतामार्फत् ४० लाख डोज खोप खरिद गरेको थियो भने गत असोजमा एसियाली विकास बैंकको ऋण सहयोगमा ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । त्यस्तै थप विश्व बैंकको ऋण सहयोगमा ३६ लाख ५१ हजार डोज खरिद गरी ल्याएको थियो ।यसबाहेक सबै खोप नेपालालाई ग्लोबल भ्याक्सिन अलायन्स गाभी कार्यक्रम अन्तरगत कोभ्याक्स सुविधाअन्तरगत तथा विभिन्न देशहरूको सहयोगमार्फत आएको छ ।

अनुदानकै आशमा अड्कियो बालबालिकाको खोप  
पुस पहिलो सातादेखि नै स्वास्थ्य सेवा विभागले फाइजर कम्पनीसँग ८४ लाख डोज कोभिड १९ विरुद्धको खोप ल्याउन प्रक्रिया अघि बढाएको थियो ।०७८ मंसिर अन्तिम साता ११ देखि १७ बर्षसम्मका बालबालिकालाई खोप ल्याउँदै गर्दा स्वास्थ्मन्त्री विरोध खतिवडाले सञ्चारकर्मीहरूमाझ भनेका थिए, "८४ लाख डोज खोप खरिदका लागि सरकारले फाइजर कम्पनीसँग सबै प्रक्रिया अघि बढाइरहेको छ । ११ वर्षमुनिका बालबालिकालाई पनि जतिसक्दो चाँडो खोप ल्याएर दिइनेछ ।"

तर, स्वास्थ्यमन्त्रीले प्रतिवद्धता जनाएको चार महिना बितिसक्दा पनि खोप आउने टुंगो छैन । यसअघि शुल्क नेगोसिएसनका क्रममा रहेको र छिट्टै खोप ल्याइने बताउँदै आएको स्वास्थ्य सेवा विभाग अहिले भने अनुदानको पर्खाइमा छ ।

सरकारले यसअघि नै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई दिन ६० लाख डोज फाइजर खोप ल्याउने तयारी गरेको थियो । तर, कोभ्याक्स सुविधामार्फत ४० लाख डोज मोर्डना खोप पाउने भएपछि फाइजर खोप खरिद प्रक्रिया पछि धकेलिएको थियो । मोर्डना खोप अनुदानमा पाउने भएपछि सोही ६० लाखमा थपेर ८४ लाख डोज फाइजर खोप ल्याउन प्रक्रिया अघि बढाइएको महाशाखाका एक अधिकारीले जानकारी दिए ।

तर, अहिले ५ देखि ११ वर्षका बालबालिकाका लागि फाइजर खोप पनि अनुदानमा दिने ‘अफर’ आएपछि खरिद प्रक्रिया ‘थाँती’ राखिएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाकाअनुसार कोभ्याक्स सुविधामार्फत बालबालिकाका लागि फाइजर खोप आउने अफर आएको छ । तर, कति र कहिलेसम्म आउँछ भन्ने टुंगो छैन । कोभ्याक्स सुविधामार्फत ल्याउन अहिले डकुमेन्टेसनको काम भइरहेको छ ।

यदि, त्यहाँबाट नआउने भएमा अथवा आए पनि अपुग भएमा मात्रै थप खोप खरिद गर्ने विभागको योजना छ । देशमा आर्थिक संकट बढ्दै गएको अवस्थामा सकेसम्म अनुदानमा नै कोभिड १९ विरुद्धको खोप ल्याउन सरकार प्रयासरत रहेको स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस