आर्मीले जित्यो मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १४ : ५९
आर्मीले जित्यो मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि

काठमाडौं ।मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । 

बुधवार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशिको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपीएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एपीएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुवै टोलीले ४०/४० हजार रूपैयाँ प्राप्त गरेका छन् । 

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ ।सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोराको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमका विशिष्ठ अतिथि सुप प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह थिए । 

कैलाली जिल्ला कबड्डी संघका अध्यक्ष कमल पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस