एनपिएल उद्घाटन खेलमा आज जनकपुर र विराटनगरको भिडन्त

सफल खबर संवाददाता

शनिबार, १५ मंसिर २०८१, ०७ : २०
एनपिएल उद्घाटन खेलमा आज जनकपुर र विराटनगरको भिडन्त

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ।

स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो। त्यसो त दुलही झैँ सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ। त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ। यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ। यही मङ्सिर १२ गते नै टिकट बुक गरिसक्नुभएका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताउनुभयो।

त्यसो त एनपिएलमा विश्वचर्चित स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ। विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो। भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्यूजिल्याण्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आउँदैछन्। त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी–२०का स्टार खेलाडीको सहभागिताले पनि एनपिएल निकै चर्चामा आएको हो।

विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन। फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ। पोखरा एभेन्जर्सले करिब रु तीन करोड ५७ लाखमा फ्रेन्चाइज किनेको थियो। यस्तै कम खर्च गर्नेले पनि कम्तीमा रु एक करोडभन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ।

एनपिएलको अर्को आकर्षण भनेको खेलाडीले कार पाउनु पनि हो। नेपाली क्रिकेट इतिहामा खेलाडीले खेलेरै कार पाउने यो पहिलो पटक हुनेछ। क्यानका अनुसार प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीले एक थान कार पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै क्यानले प्रतियोगिताको विजेता टोलीलाई ठूलै नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने विषयमा खुलाएको छैन।

आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस