पेरिस सेन्ट जर्मेन (पिएसजी) र अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी अलग हुने समाचार बाहिर आएको छ । फ्रान्सका सञ्चारमाध्यमले मेस्सी र पिएसजीबीचको यात्रा अर्को सिजन सुरु नहुँदै समाप्त हुने भनेर लेखेका हुन् ।
अर्को सिजनका लागि पिएसजी अहिलेदेखि नै टोली बनाउने प्रयासमा छ । त्यो टोलीमा मेस्सी प्राथमिकतामा परेका छैनन् । पिएसजीले जुन उद्देश्यका लागि स्पेनिस क्लब बार्सिलोनाबाट मेस्सीलाई पेरिस भित्र्याएको थियो, त्यो पूरा हुन सकेको छैन ।
उनी जस्तो उत्कृष्ट खेलाडीले यो सिजन जसरी बिताइरहेका छन्, त्यसलाई सहजै नराम्रो भन्न सकिन्छ । मेस्सीले फ्रान्सेली घरेलु फुटबलमा जम्मा तीन गोल गरेका छन् । अनि युरोपेली च्याम्पियन्स लिगमा पनि उनको प्रदर्शन सन्तोषजनक रहन सकेन । रियल मड्रिडविरुद्ध नकआउट चरणको खेलमा उनी पेनाल्टीमा पनि गोल गर्न चुके ।
मेस्सीले सन् २०२१ मा ‘बलुन डि ओर’ अवार्ड त जिते, तर यो सिजन उनको प्रदर्शनले त्यसलाई न्याय गर्न सकिरहेको छैन । अर्को तथ्य के पनि छ भने मेस्सी आफैँ पेरिसमा खुसी छैनन् । फ्रान्सका सञ्चारमाध्यमले क्लबभन्दा पनि उनलाई पेरिस सहर र यसको रहनसहन मन नपरेको भनेर पनि उल्लेख गरेका छन् । फ्रान्सेली सञ्चारमाध्यमले मेस्सी पिएसजी आउनुअघि पनि उनीबारे समाचार प्रकाशन/प्रशारण गरेका थिए । अन्ततः ती समाचारपछि सही सावित पनि भए ।
यसपाली पनि फ्रान्सका सञ्चारमाध्यमले लेखेको समाचार सत्य भएमा मेस्सी अर्को सिजनमा पिएसजीमा देखिने छैनन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०७ बैशाख २०७९, १३ : ४२
लेखकबाट थप