महायज्ञको पहिलो दिनमा रु पाँच लाख सहयोग

विहीबार, ०३ जेठ २०७५, ०८ : १९
महायज्ञको पहिलो दिनमा रु पाँच लाख सहयोग

धनकुटा । निशान भगवती मन्दिरमा अक्षयकोषमा जम्मा गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञमा रु पाँच लाख सहयोग जुटेको छ । धनकुटा सदरमुकामस्थित निशान मन्दिरमा बुधबार नेपालका प्रथम जगतगुरु बालसन्त मोहनसरण देवले पानसमा बत्ती बालेर एवं कायममुकायम प्रधानसेनापति पूर्णचन्द्र थापाले निशानको झण्डा खोलेर उद्घाटन गर्नुभएको थियो ।

पहिलो दिन बिहान ८ बजेदेखि धनकुटा बजारमा कलश शोभायात्रा निकालिएको थियो । निशान भगवती मन्दिरबाट शुरु भएको कलशयात्राले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो । हातमा कलश बोकेर सयौँको संख्यामा जिल्लावासी झाँकी, ब्यानर र झण्डासहित कलशयात्रामा सहभागी थिए भने दिउँसो १ बजे दीप प्रज्ज्वलन गरी कथावाचन शुरु गरिएको थियो । जेठ १० गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित दिनबन्धु पोखे्रलले संगीतमय धारावाहिक कथा वाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

महायज्ञको पहिलो दिन कायम मुकायम प्रधानसेनापति थापाले रु एक लाख ११ हजार १११, संगालो फोटो स्टुडियोबाट रु ९९ हजार ९९९, सीता जोशी धनकुटा–५ र विश्व जोशी धनकुटा–७ बाट रु ९९ हजार ९९९ र महायज्ञ मूल समारोह समितिका अध्यक्ष नारायण जोशीले रु २७ हजार ९०९ सहयोग गरेका थिए । विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेको आयोजक समितिका कोषाध्यक्ष द्रोण गुरागाँईले जानकारी दिनुभयो ।

महापुराणमा रु एकदेखि रु ५०० सम्म दान पेटीकामा, रु ५०१ देखि रु एक १२५ सम्म रसिद प्रदान, रु एक हजार १२६ देखि रु दुई हजार ५०० प्रदान गर्नेलाई प्रमाणपत्र, रु दुई हजार ५०१ देखि रु १५ हजार १०० प्रदान गर्नेलाई रुद्राक्षमाला र प्रमाणपत्रले सम्मान गरिनेछ ।

यसैगरी, रु १५,१०१ देखि रु ५१,१०० सम्म प्रदान गर्नेलाई व्यक्तिको शिलालेखमा नाम राखिनेछ । संघसंस्थाको हकमा रु २५,१०१ देखि रु ५१,१०० प्रदान गर्नेको शिलालेखमा नाम र रु ५१, १०१ देखि रु ९९ हजार ९९९ सम्म दान गर्नेलाई दम्पतीको शिलालेखमा नाम र रु ९९ हजार ९९९ देखि माथि सहयोग गर्ने दातालाई आजीवन उपनामसहित यथोचित सम्मान र मूलकर्ता बनाइने आर्थिक समितिका संयोजक एवं समितिका कोषाध्यक्ष गुरागाँईले जानकारी दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस