टेकु अस्पतालमा रेबिजले एक महिनामै १० जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १३ : ४५
टेकु अस्पतालमा रेबिजले एक महिनामै १० जनाको मृत्यु

काठमाडौं ।पछिल्लो समय रेबिज रोगबाट हुने मृत्युको संख्या ह्वात्तै बढेको छ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पालमा एक महिनाको अवधिमा १० जना रेबिजका बिरामीको मृत्यु भएको छ।

टेकु अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीका अनुसार एक महिनाभित्र अस्पतालमा बिजका १० जना बिरामीको मृत्यु भएको बताए। ‘अहिलेको अवस्थामा एक महिनामै रेबिजबाट १० जनाको मृत्यु हुनु भनेको ठूलो कुरा हो, यो त अझै अस्पतालमा उपचारको लागि आउने बिरामीको संख्याको आधारमा भयो कतिपय त उपचारमा नआएको पनि हुनसक्छ’उनले भने।

पछिल्लो एक महिनामा कोरोना संक्रमणबाट हुने मृत्यु भन्दा धेरै रेबिजबाट बिरामीको मृत्यु भएको छ। सरुवा रोगसम्बन्धी विज्ञ डा. शेरबहादुर पुनका अनुसार एक महिनाको समयलाई हेर्ने हो भने कोरोनाको लहर घट्दै जाँदा कुकुरको टोकाइ बढ्दै गएको देखिन्छ।‘एक महिनाको अविधमा अस्वभाविक रुपमा रेबिजबाट मृत्यु हुनेको संख्या बढेको छ, धेरैजसो बिरामी काठमाडौं र यस आसपासका बिरामीहरु रहेका छन’उनले भने।  

डा. पुनका अनुसार पछिल्लो समय टेकु अस्पताल कुकुर तथा अन्य जनावरले टोकेर उपचार गराउन आउने बिरामी संख्या पनि धेरै छ। हाल अस्पतालमा दैनिक ५ सय जनासम्म कुकुर तथा अन्य जनावरले टोकेका बिरामी उपचारमा आउने गरेको उनले बताए।

‘अहिले अस्पतालमा आउने बिरामीको दैनिक संख्यालाई हेर्ने हो भने कुकुर तथा अन्य जनावरको आक्रमण बढेको देखिन्छ, तर हाम्रोमा अहिले मृत्यु भएका प्राय: सबै बिरामीहरु कुकुरको टोकाइबाट रेबिज संक्रमण भएको देखिन्छ’उनले भने।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हरेक वर्ष एक सय जना नयाँ बिरामी देखा पर्छन ।विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा रेबिजका कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ । एक करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ ।

एशिया क्षेत्रमा मात्रै रेबिजका कारण ३५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । कतिपय देशहरुले भने कुकुरलाई अनिवार्य खोप र मानिसका लागि रेबिज खोपको राम्रो व्यवस्थापन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस