चितवनमा १ लाख ७४ हजार बढी बालबालिकाले लगाए टाइफाइड रोग विरुद्धको खोप

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १४ : ०५
चितवनमा १ लाख ७४ हजार बढी बालबालिकाले लगाए टाइफाइड रोग विरुद्धको खोप

चितवन ।जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोग विरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो ।

गत चैत २५ गतेदेखि सुरु भएको खोप अभियानमा बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियान वैशाख ४ गते सकिएको छ ।  कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ७९ हजार २१६ र खैरहनी नगरपालिकामा १५ हजार २२८ बालबालिकाले खोप लगाएका छन् ।

यस्तै माडी नगरपालिकामा आठ हजार ८०४, रत्ननगर नगरपालिकामा २० हजार ५६२, राप्ती नगरपालिकामा १५ हजार ८६३, कालिका नगरपालिकामा १२ हजार ५५ र इच्छाकामना गाउँपालिकामा सात हजार २२४ बालबालिकालाई खोप लगाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् । सो अभियानमा ५४० खोप केन्द्रबाट खोप दिइएको हो ।

प्रतिक्रिया दिनुहोस