काठमाडौं ।इण्डियन प्रिमियर लिग अन्तर्गत आज बेलुकी हुने एक मात्र खेलमा राजस्थान रोयल्स र कोलकत्ता भिड्दैछन्।
मुम्बईमा हुने खेलमा दुई पटकको विजेता कोलकत्ताले एक पटकको च्याम्पियन राजस्थानलाई ब्राबोर्न मैदानमा आतिथ्यता गर्नेछ । प्लेअफ खेलका लागि शीर्ष ४ को दौडमा रहेका दुबै टोलीको हाल समान अङ्क रहेको छ। राजस्थानले ५ खेलमा ६ अंक बटुल्दै तालिकामा पाँचौं स्थानमा रहँदा कोलकत्ताको भने ६ खेलबाट ६ अंक रहेको छ । उसको छैठौं स्थान रहेको छ।
आफ्नो पछिल्लो दुई खेल गुमाएको कोलकत्ता आज हारको शृंखला तोड्दै जित निकाल्ने तयारीमा रहेको छ । राजस्थानले भने यसअघिको खेल गुजरातविरुद्ध ३७ रनले गुमाएको थियो । दुबै टोलीले अहिलेसम्म मिश्रित नतिजा निकालिरहेका हुँदा दुवै खेलको स्तर एउटै हुने आंकलन गर्न सकिन्छ ।
राजस्थानका लागि प्रमुख ब्याट्सम्यान जस बटलरको भूमिका आज पनि निर्णायक हुनेछ । न्युजिल्यान्डका तीब्र बलर ट्रेन्ट बोल्टको आगमनले राजस्थानलाई बलिंग आक्रमणमा अघिल्लो खेलको तुलनामा मजबुत बनाउनेछ । साथै माथिल्लो क्रममा बटलरलाई साथ दिने अन्य ब्याट्सम्यान भएको खण्डमा टोलीले राम्रो चुनौती खडा गर्न सक्नेछ।
कोलकताले भने आफ्ना तीव्रगतिका बलर उमेश यादवबाट यस सिजनमा जारी रहेको उत्कृष्ट फर्मको कामना गर्नेछ । सुनिल नाराइन र वरुण चक्रवर्तीको स्पिन जोडीले कोलकत्तालाई राम्रै फलिफाप गरिरेहको छ । कोलकताको प्रमुख समस्या ब्याटिङमा छ । मध्यक्रममा आन्द्रे रसेलको पारीले कोलकत्तालाई खेलमा राख्न सफल भएपनि अन्य ठाउँबाट रन आउन नसक्दा टोलीले संघर्ष गरिरहेको छ । यी दुबै टोलीले आपसमा २४ पटक भिड्दा, अहिलेसम्म कोलकत्ताले सर्वाधिक १३ जित निकालेको छ भने राजस्थान रोयल्सको ११ जित रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, १२ : ३९
लेखकबाट थप