सुरक्षित बस्ती बसाउने ठाउँ खोज्दै भूमि व्यवस्था मन्त्री लामा सिन्धुलीमा

बुधबार, ०२ जेठ २०७५, १४ : ००
सुरक्षित बस्ती बसाउने ठाउँ खोज्दै भूमि व्यवस्था मन्त्री लामा सिन्धुलीमा

सिन्धुली । प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सुरक्षित बस्ती बसाउने ठाँउ खोज्दै सिन्धुली पुगेका छन् । प्रदेश नम्वर ३ को भूमिहिन र सुकुम्वासी समस्या समाधान गर्न उनि खाली जमिन खोज्दै सिन्धुली पुगेका हुन् । उनले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकामा रहेको करिब २ हजार विगाहा खाली जमिनको अवलोकन गरेका छन् । सो जमिन हरिहरपुरगढी गाँउपालिका वडा नम्बर १ र ५ नम्बर वडाको बस्तिपुर,गुरुजी र झनझनेमा पर्छ । हेटौंडा–धरान–चतरा सडकसंग जोडिएको सो खाली जमिन हेटौडाबाट ६३ किलोमिटरको दुरिमा रहेको छ ।

खाली जमिनको अवलोकन पश्चात मन्त्री लामाले यो जमिन प्रयोग गर्न सके प्रदेश नम्बर ३ को सुकुम्बासी समस्या साधान हुने बताए । बाढी,पहिरोले विस्थापित भएका र लालपुर्जा नभएका प्रदेश नम्वर ३ का नागरिकलाई एकिकृत बस्ती निर्माण गरी राखिने मन्त्री लामाले बताए । उनले पहिलो प्राथमिकतामा सिन्धुलीका जनालाई यस क्षेत्रमा राख्नसकिने जानकारी दिए । दिगो योजना बनाएर हरिहरपुरगढी गाँउपालिकामा प्रदेश सरकारले काम गर्ने उनले बताए । “हेटौंडा–धरान–चतरा सडक निर्माण सम्पन्न भएपछि यो क्षेत्र दुरिका हिसाबले पनि धेरै टाढा छैन्,उनले भने’, यति धेरै खाली जमिन मैले प्रदेश नम्बर ३ मा भेटेको छैन् ।” उनले माथी पहाड,तल नदि र विचमा समथर भूभाग रहेको यो क्षेत्र बस्ती निर्माणका लागी निकै योग्य रहेको बताए । उनले छिट्टै मुख्यमन्त्री सहितको विज्ञ टोलीले यस क्षेत्रको अवलोकन गर्ने जानकारी दिए ।

सिन्धुली क्षेत्र नम्वर २ (ख) का सांसद बुद्धीमान माझीले उर्वर भूमिको संरक्षण गर्दे एकिकृत बस्ती निर्माण गर्न सकिने बताए । उनले बागमती,मरी नदि र चुरेको संरक्षण गर्दै हरिहरपुरगढीलाई औधोगिक क्षेत्रको रुपमा पनि विकास गर्न सकिने योजना सुनाए ।
प्रदेश र केन्द्र सरकारले एकिकृत बस्ती निर्माणका लागी विशेष योजना ल्याए स्थानिय सरकार अहोरात्र काम गर्न तयार रहेको हरिहरपुरगढी गाँउपालिकाका अध्यक्ष कारसाड्ड लामाले बताए । उनले धान,वेसार र खुर्सानीको पकेट क्षेत्रको रुपमा रहेको हरिहरपुरगढीलाई कृषि र पर्यटनबाट संमृद्ध बनाउने अभियानमा लागेको जानकारी दिए । एतिहाँसिक हरिहरपुरगढी,क्यान कुण्ड लगाएतका पर्यटकीय स्थलहरु हरिहरपुरगढीको अमुल्य सम्पती रहेको लामाले बताए ।
सो अवसरमा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य कमलजंग राई, स्थानिय समाजसेवी हिरा बहादुर लामा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस