ग्रामीण र शहरी क्षेत्रको बीचको विकासलाई दीगो बनाउनुपर्छ : मन्त्री कार्की

सफल खबर संवाददाता

मंगलबार, २९ चैत्र २०७८, १५ : १६
ग्रामीण र शहरी क्षेत्रको बीचको विकासलाई दीगो बनाउनुपर्छ : मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र अर्थतन्त्रको विकासका लागि ग्रामीण र शहरी क्षेत्रको बीचको विकासलाई दीगो बनाउनु पर्नेमा जोड दिएका छन् । मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले सबै नागरिकको जीवनस्तर उकास्न मानवीय एवं प्राविधिक सञ्जालको जडान गर्न आवश्यक रहेको पनि बताए । मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको भन्दै यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाँच्ने तरिकालाई असर गरिरहेको बताए ।

मन्त्री कार्कीले समाज बिस्तारै अनेकौँ सपनाका कारण बस्तीहरु रित्तिँदै गएको र शहरमा बस्ने आकांक्षले शहरलाई अव्यवस्थित बनाउँदै गएको बताए । उनले शहरीकरण कारण अहिले भएको विकास पनि एकाङ्की हुनसक्ने अवस्था सिर्जना भएको बताए । मन्त्री कार्कीले गाउँका जनतालाई गाउँमै बसौँ÷बसौँ लाग्ने नीति तर्जुमा गर्नु अहिलेको आवश्यक्ता भएको पनि बताए ।

मन्त्री कार्कीले भनेका छन्, ‘आजको युग सूचना, सञ्चार र प्रविधिको युग हो । यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गर्नुका साथै हाम्रो बाँच्ने तरिकालाई असर गरिरहेको छ । सूचना र सञ्चार प्रविधिको बढ्दो उपस्थितिका कारण अन्तरिक्ष र शहरी ठाउँहरुको बारेमा हाम्रो सोचाइले चुनौती दिइरहेको अवस्था छ । किनभने आइसिटीमा हाम्रो दिमागलाई असर पार्ने आविष्कारहरु धेरै भइरहेका छन् ।’

उनले थप भनेका छन्, ‘समग्र अर्थतन्त्रको विकासका लागि ग्रामिण र शहरी क्षेत्रको बीचको विकासलाई दीगो बनाउन र सबै नागरिक जीवनस्तर उकास्न मानवीय र प्राविधिक दुवै सञ्जालको जडान गर्न आवश्यक छ । विश्वमा भएको मोबाइल फोन तथा सञ्चार क्रान्तिले शहरी जनतालाई स्मार्ट सिटीमा बस्न प्रेरित गर्दछ । जुन युवाहरुका लागि शिक्षा, रोजगारीका सम्भावनाहरुको विकास गर्दै नयाँ प्रविधिको प्रयोग गर्ने बारेमा सुधार ल्याउँछ । किनभने हामी अहिले डिजिटल रुपमा छौँ ।’

त्यस्तै आईसीटी टेक्नोलोजीहरुले प्रदान गरेका अवसरहरु समावेशी बनाउनका साथै सबै तहका नेतृत्वको समस्या समाधान गर्न आवश्यक रहेको बताएका छन् ।उनले भने, ‘हाम्रा विकासका कुराहरु जनताले अनुभूत गर्न नसक्ने र केवल नाराहरुमा मात्र हुन सक्दछन् । गाउँका जनतालाई गाउँमै बसौँ बसौँ लाग्ने नीति तर्जुमा गर्न आवश्यक छ । हरीकरण अव्यवस्थित छ, अनेकौँ समस्याहरु छन्, ती समस्यालाई समाधान गर्दै समाजलाई गरिबीबाट माथि लाने र कसरी गाउँलाई सफा, सुन्दर र स्वच्छ बनाउने भन्ने र शहरलाई पर्यटकको आकर्षण केन्द्र कसरी बनाउने भन्ने सोच्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस