चितवन । एउटा कानले राम्रोसँग सुन्दैन । एउटा आँखाले राम्रोसँग देख्दैन । उमेरले ८१ वर्षमा यात्रा गरिरहेको छ । भरतपुर महानगरपालिका ५, आनन्दपुरका शिक्षाप्रेमी खेमलाल तिवारीलाई समाजसेवामा अगाडि बढ्न यी कुनैपनि कुराले बाधा पु¥याउन सकेका छैनन् ।
बुढ्यौली वयमा पनि युवा जोशका साथ समाजसेवामा खटिएका तिवारीले दर्जनौँ विद्यालयलाई सहयोग गरेका छन् । मंगलपुरमा रहेको पहिलेको विश्वप्रकाश माध्यमिक विद्यालय र हालको हरिकुमार स्मारक कलेजको मूलगेट तिवारीकै आर्थिक सहयोगमा ठडिएको हो । मोहनपुर माध्यमिक विद्यालयमा पनि उनले गेट बनाइदिएका छन् । बाह्रघरे माध्यमिक विद्यालयमा खानेपानीको लागि इनार बनाइदिएका तिवारीले त्यही विद्यालयको कक्षाकोठामा केही पंखा झुण्ड्याइदिएका छन् ।
शिक्षा क्षेत्रमा सहयोगको पाइला चाल्न सुरु गर्दा विद्यालयको भौतिक पूर्वाधार सुधारमा सहयोग गर्दै आएका तिवारीले हालका दिनमा भने विपन्न, असहाय र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति एवं शैक्षिक सामग्री सहयोगमा रकम खर्च गर्दै आएका छन् । अहिलेसम्म एक दर्जन विद्यालयमा कतै ४० हजार त कतै ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेर त्यसको ब्याजबाट उपयुक्त विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था मिलाएका छन् उनले ।
एकल प्रयासमा दुई दशकसम्म शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका तिवारीसँग कहाँबाट आयो त पैसा ? उनी भन्छन्, ‘मन्दिरमा खर्च गर्नुभन्दा मानव सेवा र शिक्षामा खर्च गर्नु पर्छ भन्ने सोच आयो । एक कठ्ठा जग्गा बेचेँ । ऋण तिरेर बचेको १६ लाख रुपैयाँ ब्याजमा लगाएको छु । त्यही ब्याजको पैसाले विद्यालय र गरीब विद्यार्थीलाई सहयोग गर्दै आएको छु ।’ किन ? उनको जवाफ यस्तो छ, ‘जीवनभर मैले विद्यालयको औपचारिक शिक्षा लिन पाइन । ल्याप्चे लगाउन भएन, कलमले सिग्नेचर त गर्नुप¥यो भन्ने सोचेर प्रौढ शिक्षा लिएँ । अहिले पुस्तक पढ्न र सिग्नेचर गर्न सक्ने भएको छु । शिक्षाको साह्रै महत्व छ भन्ने बुझेर त्यही क्षेत्रमा सहयोग गर्दै आएको छु ।’
१९९४ सालमा लमजुङको रवैडाँडामा जन्मिएका तिवारी दस वर्षको हुँदा बुबा शशीधरको अभिभावकत्व गुमाए । बिधुवा आमा नरीदेवीको आग्रहमा १५ वर्षको उमेरमा आठ वर्षीया शोभादेवीसँग लगनगाँठो कसे । २० वर्षको उमेरमा २०१४ सालमा चितवन झरेका तिवारीले जीवनभर कृषि कर्म गरिरहे । आफूले पढ्न नपाएपनि तीन जना छोरी र तीन जना छोरालाई उच्चशिक्षासम्म पढाए । जेठो छोरा रुद्रनाथ आनन्दपुरमा छुट्टिएर बसेका छन् । माहिलो छोरा कृष्णप्रसाद बुहारी र नातिनातिनासँग बेलायतमा छन् । कान्छो छोरा दीर्घनाथ, बुहारी र नातिनातिनासँग तिवारी र उनकी श्रीमती एकाघरमा छन् । छोरीहरु चन्द्रादेवी आचार्य, लक्ष्मी भुषाल र सपना दंगाल आ–आफ्नो घरजम सम्हालेर बसेका छन् ।
समाजसेवाको प्रेरणा आफैबाट आएको बताउने तिवारी विद्यालयलाई स्वर्ग र विद्यार्थीलाई इश्वर मान्छन् । ‘भाग्य भनेकै शिक्षा हो, शिक्षामा बल गर्नुपर्छ’ उनी भन्छन्, ‘म आफूले पढ्न पाइन । अहिलेका सबै बालबालिकाले पढ्न पाउनु पर्छ । सक्नेले आफ्ना छोराछोरी पढाउँछन्, नसक्नेका छोराछोरीलाई सहयोग गर्नुपर्छ भनेर विद्यालयहरुमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरिदिएको हुँ ।’ बाँचुञ्जेल शिक्षा क्षेत्रमा सहयोगका लागि क्रियाशील हुने अठोट लिएका तिवारी दस नंग्रा खियाएर जोडेको आफ्नै सम्पत्ति बेचेर समाजसेवामा लागेको बताउँछन् । समाजसेवाको यो यात्रामा श्रीमती शोभादेवीको साथ पाइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सूर्यप्रकाश कँडेल
मंगलबार, ०१ जेठ २०७५, १७ : ३९
लेखकबाट थप