राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा. झलक शर्मा चुनिए

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, ११ : २५
राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा. झलक शर्मा चुनिए

काठमाडौँ ।  नेकपा (एमाले) निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा. झलक शर्मा गौतम सर्वसम्मत चुनिएका छन्। संघको काठमाडौंमा जारी चौथो राष्ट्रिय महाधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। यस्तै‚ महासचिवमा डा. सन्तोष पौडेलको नाममा सहमति भएको छ। १५१ सदस्यीय नयाँ कार्यसमितिमा ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ।

सहमति भए पनि औपचारिक घोषणा भने हुन बाँकी छ। शुक्रवार र शनिवार भएको महाधिवेशनले अन्य पदाधिकारी र सदस्यहरू समेत सहमतिबाटै चुन्ने सूची तयार पारिएको बताइएको छ। सहमति अनुसार चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह रहनेछन्। १७ सदस्यीय पदाधिकारीहरूमध्ये दुई उपमहासचिव पदमा हिमालय तिवारी र अमृता बराल चुनिएका छन्। यस्तै‚ कोषाध्यक्षमा अञ्जु बस्नेतको नाममा सहमति भएको छ।

८ सदस्यीय सचिव पदमा प्रदेश १ बाट रामचन्द्र मिश्र, मधेश प्रदेशबाट डा. धर्मेन्द्र यादव, बागमती प्रदेशबाट नारायण पौडेल, गण्डकी प्रदेशबाट लक्ष्मण बसौला, लुम्बिनीबाट खगराज पोखरेल, कर्णालीबाट सुशील शाही, सुदूरपश्चिमबाट सिद्धप्रसाद ढुंगाना र उपत्यका प्रदेशबाट रुपा केसीको नाममा सहमति भएको छ।यस्तै‚ निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहकार समितिको अध्यक्ष बनाइएको छ। लेखा आयोगको अध्यक्षको जिम्मेवारी त्रिलोक गुरुङ्गलाई दिने तयारी भएको छ। 

प्रतिक्रिया दिनुहोस