देउवा पक्षले दियो रामचन्द्र पौडेलको सम्मान खोस्ने चेतावनी

सोमबार, ३१ बैशाख २०७५, १७ : ३४
देउवा पक्षले दियो रामचन्द्र पौडेलको सम्मान खोस्ने चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर दउवाले सिण्डिकेट कायम गर्ने गरी आफ्नो पक्षका मान्छेलाईमात्रै पदाधिकारीमा नियुक्त गरेपछि आगो भएका रामचन्द्र पौडेल गुट जसरी भएपनि सभापतिलाई अप्ठ्यारोमा पार्ने रणनीतिका साथ तम्तयारी अवस्थामा बसेको छ ।
देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा डा. प्रकाशशरण महतलाई नियुक्त गरेको भन्दै पौडेल पक्ष वारपारको लडाईमा उत्रिएको हो । पौडेल गुटले अनावश्यक वखेडा झिकिरहे विधानमै नभएको वरिष्ठ नेताको सम्मान खोसिदिने चेतावनी देउवा पक्षले दिएको छ ।
काँग्रेसको विधानमा वरिष्ठ नेताको पद नभएपनि पौडेलले वरिष्ठ नेताको सम्मान पाएको र त्यस्तो सम्मान समेत खोसिदिने चेतावनी देउवा पक्षका नेताले लगाउन थालेका छन् । यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउन सरकार सफल भएपनि काँग्रेसभित्र राजनीतिक सिण्डकेट बढेको भन्दै काँग्रेस नेता अर्जुननरसिंह केसीले सभापति देउवामाथि गम्भीर आरोप लगाएका छन् ।
राजालाई तह लगाएको काँग्रेसले अब देउवाको ज्यादती समेत तह लगाएर छोड्ने बताएका छन् । केसी विगतमा देउवका गुटमा नै रहेका थिए । मनोनित महामन्त्री बन्ने इच्छा राखेका केसीलाई उछिनेर हरुवा नेता डा महतले महामन्त्री पड्काएपछि केसी आगो बनेका हुन् । उनले देउवा गुटका कारण काँग्रेस रसातलमा पुगेको भन्दै यस्तै हैकम जारी रहे देउवालाई लघारेर काँग्रेस सभापतिबाट फालिदिने चेतावनी समेत दिएका छन् ।
आफ्नो भाइलाई महामन्त्री बनाएपछि डा. रामशरण महतले समेत आगो ओकलेका छन् । चोरीको प्रमाणपत्र ल्याएर डाक्टर लेखाएको प्रकाशको राजनीतिक हैसियत गत निर्वाचनमा देखिएकै हो भन्दै उनले आफ्नै भाइविरुद्ध आगो ओकलेका छन् । प्रकाशशरण महतले लिएको डाक्टरको उपाधि नक्कली रहेको भन्दै स्वयम् काँग्रेसभित्र बेला बेलामा चर्चा चल्ने गरेको भएपनि उनकै दाजुले नक्कली भन्दै हल्ला गरेपछि प्रकाशशरण महतको नैतिकतामाथि नै प्रश्न चिन्ह लागेको छ ।
 

दुई महिनामा गर्नुपर्ने काम दुई वर्षपछि
काँग्रेस विधानअनुसार महाधिवेशन भएको दुई महिना भित्र पदाधिकारी मनोनयन गर्नुपर्ने व्यवस्था छ । तर महाधिवेशन भएको दुई वर्षपछि मात्रै देउवाले पदाधिकारी नियुक्त गरेका छन् । विधान उल्लघंन भएको विषयमा पौडेल समूहले उठाएको विषय राजनीतिक रुमपा जायज नै रहेको छ ।
तर राजनीतिक विषय उठेपछि त्यसलाई राजनीतिक जवाफ दिनु भन्दा पनि नवनियुक्त महामन्त्री प्रकाशशरण महतले पौडेललाई चेतावनी दिदै भनेका छन्, ‘पौडेलले बढी बकबक गरे भने तिनको वरिष्ठ नेताको सम्मान पनि खोसिन्छ, तिनले हेक्का राखे हुन्छ ।’ पौडेलले भने जनता नचिनेका, काँग्रेस नबुझेका एक बुर्जुकले पदको तुजुक देखाएर आफूलाई नथर्काउन चेतावनी दिएका छन् ।
काँग्रेसका पूराना नेता कुलबहादुर गरुङले गत महाधिवेशनमा देउवालाई दिएको समर्थन फिर्ता लिएको जनाएका छन् । माऊ नेताको बीचमा झगडा बढेपछि काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघमा पनि मारामार सुरु भएको छ । देउवा पक्षीय अध्यक्ष नैरसिंह महरले पेलेको भन्दै पौडल पक्षका कुन्दराज काफ्लेलगायतको समूहले समानान्तर गतिविधि सुरु गरेको छ ।
पौडेल पक्षले देउवाले धेरै पेल्दै गए पार्टी समेत फुटाउने धम्की दिएका छन् । उनलाई कृष्णप्रसाद सिटौलालगायतले पनि उचालिरहेका छन् । संस्थापन पक्षले भने पौडेल बढी बाठो भए मनोनित केन्द्रीय सदस्य समेत खोसेर साधारण सदस्यमा पु¥याइदिने र वरिष्ठ नेताको हैसियत समेत खोसिदिने धम्की दिन थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नराम्ररी पछारिएको काँग्रेस रक्षात्मक अवस्थामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस