एमाले उपाध्यक्ष भीम रावल भन्छन्,- मोदी भ्रमणमा मुख्यमन्त्री राउतले दएको अभिव्यक्ति तत्काल सच्याउनु पर्छ

सोमबार, ३१ बैशाख २०७५, १२ : ३६
एमाले उपाध्यक्ष भीम रावल भन्छन्,- मोदी भ्रमणमा मुख्यमन्त्री राउतले दएको  अभिव्यक्ति तत्काल सच्याउनु पर्छ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा भएको अभिनन्दनमा प्रदेश २ का मुख्यमन्त्री राउतले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले मुख्यमन्त्री राउतसँग सो अभिव्यक्ति तत्काल सच्याउन पनि गम्भिर ध्यानाकर्षण गराए । जनकपुरमा भएको भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री राउतले ‘संविधानविरुद्ध संघर्ष’ गरिरहनु परेको अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्ति कूटनीतिक मर्यादा समेत उलंघन हुनेगरी आएको भन्दै उपाध्यक्ष रावलले तत्काल सच्याउन माग गरे । छिमेकी देशका प्रधानमन्त्री आएका बेला मुलुकलाई कमजोर बनाउने खालको अभिव्यक्त आएकोमा भन्दै  उनको आपत्ति छ । उपाध्यक्ष रावलले मोदी भ्रमणका बेला सत्तारुढ भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति पनि निन्दनीय भएको भन्दै आपत्ति जनाए ।

उनले सो अभिव्यक्ति फिर्ता लिन पनि सांसद आजादको गम्भिर ध्यानाकर्षण गराए । मोदी नेपाल भ्रमणमा आएका बेला भारतीय सांसद आजादले ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गरेका थिए । आजादको सो टिप्पणी नेपालको स्वाभिमानविरुद्ध भएको भन्दै उपाध्यक्ष रावलले आपत्ति जनाए । उनले नेपालको अस्मितमाथि नै प्रश्न उठाउने गरी आएको आजादको सो भनाई कुनै पनि नेपालीलाई सैह्य नहुने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस