काठमाडौं । गत मार्च ११ शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ चर्चामा छ । भारतीय राजनीतिको केन्द्रमा यतिबेला ‘कश्मीरी पण्डित’को मुद्दा ब्युँतिएको छ । फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएसँगै प्रभाव व्यापारमा पनि देखिएको छ ।
प्रदर्शनको पहिलो दिन तीन करोड ५५ लाखको व्यापार गरेको फिल्मले अहिलेसम्म एक सय ६७ करोड ४५ लाख भारुको व्यापार गरिसकेको छ । पहिलो दिन ६ सय मात्र स्क्रिन पाएको फिल्मले अहिले चार हजार स्क्रिन पाएको छ ।
फिल्मले पाइरहेको प्रतिक्रिया र गरिरहेको व्यापार हेर्ने हो भने यसले नयाँ रेकर्ड बनाउने विश्वास ट्रेड विश्लेषकहरूले गरेका छन् । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीरी पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर भइरहेको चर्चा अहिले भारतमा मात्र सीमित छैन । यो विश्वव्यापी रूपमा छलफल हुने विषय बनेको छ ।
मुसलमान बाहुल्यता रहेको कश्मीरमा भारतीय शासनविरुद्ध चलेको सशस्त्र विद्रोह नै सन् १९९० को घटनाको सुरुवात बन्न पुग्यो । अल्पसंख्यकको रूपमा कश्मीरमा रहेका कश्मीरी हिन्दुविरुद्ध लक्षित गर्दै आन्दोलन गर्न थालेपछि कश्मीरी पण्डितहरू आफ्नै घरबाट लखेटिएनन् मात्र केही मारिए पनि । र, धेरैजसो घर फर्किएका छैनन् ।
भारतीय मिडिया नवभारत टाइम्सका अनुसार त्यहाँ सन् २०८९ देखि सन् २०११ सम्ममा तीन सय ९९ कश्मीरी पण्डितले ज्यान गुमाइसकेका छन् । त्यहाँ रहेका पण्डितहरू न हिजो सुरक्षित थिए, न आज छन् । फिल्मले त्यहाँ रहेकालाई सुरक्षा नरहेको मात्र नभई, पुनस्र्थापना गर्न पनि सरकार चुकेको भाव व्यक्त गरेको छ । के कश्मीरी पण्डितहरू घर फर्किन पाउनेछन् त ? यो प्रश्नमार्फत फिल्मले मुद्दा उठान गरेको छ ।
सन् १९९० को त्यो समयलाई कश्मीरी पण्डितले भुल्न सकेका छैनन् नै । साथै, पलायन हुनुको आफ्नै पीडा छ । आफ्नो घरमै असुरक्षित महसुस हुँदाको समयलाई फिल्ममा चित्रण गरेइको छ । उनीहरूको त्यो पीडा र भोगाइलाई फिल्म ‘द कश्मीर फाइल्स’ ले आममानिसकहाँ पु-याउने कोसिस गरेको छ ।
सन् १९९० को दशकमा कश्मीरबाट अल्पसंख्यक कश्मीरी पण्डितलाई कसरी मुसलमान पृथकतावादीले बल प्रयोगको माध्यमबाट त्यहाँबाट लेखेटे भन्ने विषय फिल्मको कथावस्तु हो । पछिल्लो समय ओटिटीको प्रभाव बढेसँगै हलमा फिल्मको व्यापार कमजोर भइरहेको समयमा समीक्षा र वर्ड अफ माउथकै कारण ‘द कश्मीर फाइल्स’ ले बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको हो । फिल्म राम्रो भए चल्छ भन्ने उदाहरणलाई यसले नै पछिल्लो समय मूर्तरूप दिएको हो ।
फिल्मको चर्चा बढेसँगै पछिल्लो समय यसले ट्याक्समा छुट मात्र पाएको छैन, ठूला राजनीतिज्ञले यसले उठान गरेको मुद्दामा बहस सुरु गरेका छन् । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, १३ : १६
लेखकबाट थप