वाम एकता

आफू र प्रधानमन्त्री ओलीका कारण एकता प्रक्रिया नलम्बिएको प्रचण्डको भनाई

विहीबार, २७ बैशाख २०७५, १७ : ३९
आफू र प्रधानमन्त्री ओलीका कारण एकता प्रक्रिया नलम्बिएको प्रचण्डको भनाई

बर्दिवास । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्री ओलीका कारणले एकता प्रक्रिया नलम्बिएको स्पष्ट पारेका छन् । महोत्तरीको बर्दिवासमा बिहीबार आयोजित निर्मल लामाको १८ औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु छलफलमा भएको र परिपक्क एकताको पक्षमा भएको बताए । आफूहरुले हरेक निर्णयहरु सामुहिक तरिकाले छलफल गर्ने गरेको बताउँँदै उनले भने, ‘हामीले जुनदिनदेखि पार्टी एकता गर्ने भन्यौ, त्यहि दिनदेखि अर्को पक्षलाई राम्रो लागेको छैन । उनीहरुले रुन पनि नपाउने भनेर प्रचार गरे । हामीले नेपाली जनताले रुनै नपर्ने बनाउने भनेका छौं ।’

‘हामी शक्तिशाली कम्युनिष्ट केन्द्र मार्फत देशमा स्थिरता, विकास, समृद्धि र समाजवादको आधार निर्माण गर्ने महान् उद्देश्य सहित अगाडि बढेका छौं, अध्यक्ष प्रचण्डले भने  ‘ सच्चा कम्युनिष्टहरु जहिले पनि एकताको पक्षमा हुन्छन् ।'

अध्यक्ष प्रचण्डले चुनावसम्म वाम गठबन्धन सजिलैसँग गएपनि एमाले र माओवादी नेतृत्वलाई प्रतिक्रियावादीले एम्बुसमा पार्ने कोशिस गरेको समेत बताए । ‘अरुले पार्टी एकतामा जेजस्तो षडयन्त्र गरेपनि निर्णायक हामी नै हौं, ’ उनले भने, ‘हाम्रो काम गर्ने कार्यशैलीमा हुने कमजोरीलाई सच्चाउन जरुरी छ । यसमा सबैको सहयोग चाहिन्छ । हामी यो पार्टी एकतालाई निश्कर्षमा पुर्याउने ठाउँतिर लैजाँदै छौं । हामीले एउटा सही बिचारको आधारमा शक्तिशाली कम्युनिष्ट निर्माण गर्ने अवसर पाएका छौं । यो अवसर गुम्न नदिन हामी सबै एकजुट हौं ।’

प्रतिक्रिया दिनुहोस