कित्ताकाट फुकुवा गर्न माग

सफल खबर संवाददाता

शुक्रबार, २७ फागुन २०७८, ०८ : ०३
कित्ताकाट फुकुवा गर्न माग

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघ कित्ताकाट फुकुवा गर्न आग्रह गरेको छ । संघको १५ औं साधारण सभामा अध्यक्ष ईच्छाबहादुर वाग्लेले सो आग्रह गरेका हुन् । 

राजधानीमा साधारण सभाको उद्घाटन गर्दै वाग्लेले संघका सदस्यहरुले संघको आर्थिक सुदृढीकरणका लागि सक्दो योगदान गर्नुपर्ने, कित्ताकाट फुकुवा हुनुपर्ने, शहरी विकास विधेयकलाई अन्तिम रुप दिई ऐनको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ्ग प्लानिङ्गको प्रकृया सहज बनाउनुपर्ने, संघले काठमाडौं उपत्यका बाहिर पनि व्यवस्थित शहरीकरणका आयोजना सञ्चालन गर्नुपर्ने तथा नेपाल राज्यभर रियल इस्टेट उद्योगको विकासका लागि एउटा छाता संगठनको रुपमा महासंघ गठन गर्नुपर्ने कुरामा जोड दिए । 

 त्यसका लागि सम्बन्धित सरकारी निकायहरुसँग निरन्तररुपमा सम्वाद तथा अन्तरकृया गर्नुपर्ने उनको भनाइ छ ।  त्यस्तै उनले सदस्यहरु बीच आपसी सहयोग, समन्वय, सद्भाव, एकता एवं मैत्रीभाव कायम राखी रियल इस्टेट उद्योगको विकासमा एकजुट भएर लाग्नुपर्ने आवश्यकता पनि औंल्याए । 

सो अवसरमा संघका उपाध्यक्ष त्रय विदुर धमला, दीपक कुँवर एवं भेषराज लोहनी, निवर्तमान अध्यक्ष मीनमान श्रेष्ठ र संस्थापक अध्यक्ष बुद्धिनारायण श्रेष्ठले संघको सुदृढीकरण तथा रियल इस्टेट उद्योगको प्रवद्र्धन सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए । 
साधारण सभामा संघको कार्य समितिका पूर्वपदाधिकारी तथा सदस्यहरु, संघका संस्थापक, आजीवन तथा साधारण सदस्यहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । फागुन २५ को सो सभाले महासचिव पुरुषोत्तम पौडेलले पेश गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष तुलसीप्रसाद अधिकारीद्वारा प्रस्तुत आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस