राष्ट्रिय सभा बैठकमा हंगामा

के हामीले भारतीय प्रधानमन्त्री र उनीसंगै आउने पाहुनाको सुरक्षाको प्रत्याभुति दिन सक्दैनौं ?

विहीबार, २७ बैशाख २०७५, १२ : ५७
के हामीले भारतीय प्रधानमन्त्री र उनीसंगै आउने पाहुनाको सुरक्षाको प्रत्याभुति दिन सक्दैनौं ?

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
विहिबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएको ठुलो संख्याको भारतीय सुरक्षाकर्मीको आवश्यकता, सीमा सुरक्षा लगायतमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोली हुन लागेको नेपालको भ्रमणका लागि सुरक्षा दिन भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी नेपाल आएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।  के हामीले भारतीय प्रधानमन्त्री र उनीसंगै आउने पाहुनाको सुरक्षाको प्रत्याभुति दिन सक्दैनौं ? भनी गृह र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
राष्ट्रियसभा सदस्य विनादेवी रानाले कालापानी र सुस्ता सिमा क्षेत्रको विषयमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा गर्न आग्रह गरिन् । भारतीय दुतावासलाई नेपालमा ५ करोड रुपैयासम्मको योजना संञ्चालनका लागि खर्च गर्न सक्ने अधिकार दिएको भन्दै उनले वर्तमान सरकारको राष्ट्रवाद यही हो  ? भनि प्रश्न गरिन् । राष्ट्रियसभा सदस्य उतोल तामाङले दुर्गमका जनताले बोलेको राज्यले नसुन्ने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराए । उनले मुगुको विकासमा ध्यान दिन पनि माग गरे ।
त्यस्तै तारादेवी भट्टले कंञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ९ मा भारतीय सुरक्षाकर्मीले महत्वपुर्ण सम्पदालाई आफ्नो कब्जामा लिई स्थानीयलाई दुख दिने गरेको भन्दै भारतीय ज्यादती विरुद्ध तत्काल एक्सन लिन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस