आरआर क्याम्पसमा नेपाल भाषा पठनपाठन

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, ११ : ०८
आरआर क्याम्पसमा नेपाल भाषा पठनपाठन

काठमाडौं  ।  काठमाडौं महानगरपालिकाले रत्न राज्यलक्ष्मी क्याम्पस ९आरआर०लाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ। 

बुधबार महानगरप्रमुख प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षरपछि प्रमुख शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे।

गत कात्तिक १६ गते बसेको महानगरपालिकाको ७० औँ कार्यपालिका बैठकले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आरआर क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णयअनुरुप बुधबार रकम उपलब्ध गराएको हो। 

प्रमुख शाक्यले भने ‘आधारभूत तहमा नेपाल भाषा पढाउन थालेपछि आकर्षण बढेको देखेपछि यसलाई माथिल्लो तहसम्म पुर्‍याउन हामीले लगानी गरेका हौँ।’

नेपाल भाषा स्नातक तह सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले माग गर्दै आएका छन्। ‘विगत केही वर्ष सञ्चालन भएका कक्षापछि विद्यार्थी नभएपछि कार्यक्रम रोकियो । ‘तीन वर्षअघि २५ विद्यार्थीले अध्ययन गर्न पाउनुपर्ने माग राख्दै   निवेदन दिएका थिए।’

अहिले उपलब्ध गराएको रकम भवनको भौतिक संरचना निर्माण गर्ने, दुई शिक्षकलाई तलब दिने, पुस्तकालय निर्माण गर्ने र प्रशासकीय काम गर्ने प्रयोजनमा खर्च गर्नुपर्नेछ।    

प्रतिक्रिया दिनुहोस