बिपी प्रतिष्ठानमा बिमा सेवा बन्द हुनसक्ने

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, ११ : ४०
बिपी प्रतिष्ठानमा बिमा सेवा बन्द हुनसक्ने

काठमाडौं ।  लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन। शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक संकटमा छ।

एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै स्वास्थ्य बिमा बोर्डलाई प्रतिष्ष्ठान प्रशासनले पत्र लेखेको छ। स्वास्थ्य बिमा बोर्डको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य विमितलाई निःशुल्क सेवा दिँदै आएको थियो। बिमा सेवावापत बिमा बोर्डले प्रतिष्ठानले पेस गरेको कागजातका आधारमा मूल्यांकन गरी भुक्तानी गर्ने प्रावधान छ। गत कात्तिकदेखि प्रतिष्ठानले दाबी गरेको रकम बोर्डले भुक्तानी नगर्दा प्रतिष्ठान सञ्चालनमा  समस्या आउने देखिएको हो । 
बिमितको कागजपत्रसहित साप्ताहिकरूपमा प्रतिष्ठानले भुक्तानी दाबी गर्ने गरेको छ। प्रतिष्ठानले दाबी गरेको मूल्य बोर्डले रुजु गरेर भुक्तानी पाउने गरेको थियो।२०७४ सालदेखि बिमा सुविधा दिँदै आएको प्रतिष्ठानलाई बोर्डले भुक्तानी गर्न २६ करोड रुपैयाँ देखिएको छ। गत कात्तिक २८ यता कुनै दाबी स्वीकृत गरेको छैन् ।दैनिक प्रतिष्ठानमा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत बिमाबाट आउने गरेका छन्। बिमा सुविधा हुनेलाई प्रतिष्ठानले ‘जिरोमा विलिङ’ गर्दै आएको छ। प्रतिष्ठानको आम्दानीको स्रोत नै बिमामा जोडिएपछि आर्थिक संकट उत्पन्न भएको हो । 

प्रतिष्ठान स्वशासित संस्था भएकाले यहाँका कर्मचारी, चिकित्सक तथा पदाधिकारीका लागि प्रतिष्ठान आफैँले तलबभत्तालगायतका सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ। आन्तरिक आम्दानीले नै प्रतिष्ष्ठान चलाउनुपर्ने बाध्यता भएको प्रतिष्ठानको मुख्य आम्दानी भनेकै बिरामीको सेवाबाट हो। 

प्रतिक्रिया दिनुहोस