काठमाडौं । बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागु गर्ने भएको छ । बौद्ध शिक्षा प्रारम्भ गर्न चाँडै कलेज स्थापनाको प्रक्रिया अघि बढाइने नगर कार्यपालिकाको कार्यालयले जनाएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच यससम्बन्धी सम्झौता भएपछि अब बौद्ध शिक्षाका लागि कलेज स्थापनाको प्रक्रिया अघि बढ्ने भएको हो ।
यससम्बन्धी सम्झौतामा नगरप्रमुख विदुरकुमार कार्की र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न वज्राचार्यले हस्ताक्षर गर्नुभएको हो । बौद्ध शिक्षा लागू भएपछि यहाँ स्थापना हुने कलेजमा बौद्ध दर्शनसम्बन्धी ज्ञान, तालिम, खोज एवं अनुसन्धान गरिने छ । यो शिक्षाले आम नागरिकमा अष्टाङ्ग ध्यान, सम्यक जीवन र बौद्ध दर्शनका बहुआयामिक पक्षबारे चासो बढाउने छ ।
यसअघि नगरपालिकाले आउँदो शैक्षिकसत्रदेखि लागु हुने गरी स्थानीय पाठ्यक्रम लागू गरिसकेको छ । कक्षा १ देखि ८ सम्म पठनपाठन हुने स्थानीय पाठ्यक्रममा ‘बर्दिबास ज्ञानमाला’ नाउँको पुस्तक तयार भएको छ । यो शैक्षिकसत्र २०७९ बाट लागू हुँदैछ, कक्षा १ देखि ८ सम्मको ‘बर्दिबास ज्ञानमाला’ बाट विद्यार्थीले आफ्नो ठाउँको भूगोल, भेषभूषा, भाषाभाषी, रीतिथिति र स्थानीय सम्भावनाबारे आधारभूत ज्ञान पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, ११ : ३०
लेखकबाट थप