मनाङमा एमालेले यसरी रच्यो इतिहास

शुक्रबार, २२ मंसिर २०७४, ०९ : ४१
मनाङमा एमालेले यसरी रच्यो इतिहास

मनाङ, २२ मंसिर । २६ वर्षदेखि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको मनाङमा प्रजातन्त्रको पुनर्वहालीपछि नै नेकपा एमालेले पहिलोपटक बाजी मारेको छ । मनाङमा मंसिर १० गते भएको प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गतको चुनावमा एमालेका उमेदवार पाल्देन छोपाङ गुरुङले कांग्रेसका टेकबहादुर गुरुङलाई पराजित गरेर ऐतिहासिक जित तय गरेका हुन् ।

पाल्देनले २३ सय मत ल्याएर कांग्रेसका टेकबहादुर गुरुङलाई पराजित गरेका हुन् ।  टेकबहादुरको २०२१ मत आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाह्रखरीलाई जानकारी दिए ।

२०४८ सालदेखि भएको निर्वाचनमा नेपाली कांग्रेसका पाल्तेन गुरुङ विजयी भएका थिए । २०५१ पनि पाल्तेन गुरुङले नै मनाङमा बाजी मारे । नेपाली कांग्रेसको पहिलो खाता खोल्ने जिल्ला भनेर मनाङलाई चिनिन्थ्यो । २०५६ पनि पाल्तेन तेस्रो पटक विजयी भए ।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा भने मनाङबाट पाल्तेन गुरुङलाई पराजित गर्दै देव गुरुङ विजयी भए । देव गुरुङ माओवादीका उमेदवार थिए ।

देव गुरुङले १६५२ मत प्राप्त गर्दा कांग्रेसका पाल्तेनले १२०९ मत प्राप्त गरेका थिए भने १० वर्ष अघि भएको उक्त पहिलो संविधान सभा निर्वाचनमा नेकपा एमालेका उमेदवार मंगल बहादुर गुरुङले जम्मा ४७ मत प्राप्त गरेका थिए ।

२०६४ मा समानुपातिकतर्फ पनि जिल्लाभरबाट एमालेले जम्मा ३०९ मत मात्रै प्राप्त गरेको थियो । २०७० सालमा भएको निर्वाचनमा मनाङमा फेरि कांग्रेसले बाजी मार्यो । कांग्रेसका टेक प्रसाद गुरुङले १५२७ मत प्राप्त गर्दै विजयी हासिल गरे ।

राप्रपाका त्रिपल पी गुरुङले ११९२, राप्रपा नेपालका भुजुङ गुरुङले ५६३, माओवादी केन्द्रका कपिल लामाले २६१ र नेकपा एमालेका छिरिङ लोप्साङले ८० मत मात्रै प्राप्त गरेका थिए ।

२०७० सालमा  भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि समातुपातिकतर्फ एमालेले जिल्लाभरबाट जम्मा २८८ मत प्राप्त गरेको थियो ।

तर त्यसको ४ वर्षपछि २०७४ मंसिर १० गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेका पाल्देन गुरुङले २३०० मत प्राप्त गर्दा कांग्रेसका टेकबहादुर गुरुङले जम्मा २०२१ मत प्राप्त गरे ।
 

प्रतिक्रिया दिनुहोस