कुमाल समुदायमा खानेपानी धारा जडान

शनिबार, २२ बैशाख २०७५, १३ : ३३
कुमाल समुदायमा खानेपानी धारा जडान

पाल्पा । पाल्पाको रामपुर नगरपालिका वडा नं ६ ले तिलकपुरमा बसोबास गर्ने कुमाल समुदायका घरघरमा खानेपानीको धारा जडान गरिदिएको छ । धारा जडान भएपछि सो क्षेत्रका कुमाल समुदायमा खुसियाली छाएको छ । रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनामार्फत ६० घरधुरीमा खानेपानी धारा जडान गरी खानेपानीको प्रबन्ध मिलाइएको वडा अध्यक्ष हुमनाथ न्यौपाने बताउनुभयो ।

“वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका कुमाल समुदायका गरिब, विपन्न परिवारलाई कार्यालयले घरघरमा खानेपानीको सुविधा उपलब्ध गराएको छ”, उहाँले भन्नुभयो, “आयोजनाको धारा जडान गर्न नसकेका ६० घरधुरीमा वडा कार्यालयले ५० प्रतिशत छ्ुटमा प्रति घरधुरीका लागि रु १० हजार सहयोग गरी खानेपानी धारा जडान गरिएको छ ।”

“आर्थिक समस्याका कारण घरमा धारा जडान गर्न सकिएको थिएन, जनप्रतिनिधि आफैँ घरमा आएर खानेपानीको व्यवस्था मिलाइदिनुभएकामा एकदमै खुशी छु,” स्थानीय उपभोक्ता कृष्णबहादुर कुमाल बताउनुहुन्छ । गाउँका सबै छिमेकीका घरघरमा आयोजनाका पानी आउँदा निकै रहर लाग्थ्यो, बिना झन्झट जनप्रतिनिधि आफैँले सबै प्रक्रिया मिलाएर घरमै पानी आउने गराइदिनुभएको कुमालले भन्नुभयो ।

निर्वाचनका बेला घर घरमा खानेपानी ल्याउने वाचा गरेका यहाँका जनप्रतिनिधिले अहिले कुमाल समुदायलाई प्राथमिकतामा राखेर घरघरमा खानेपानी धारा जडान गरिएदिएपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आएको अनुभूति भएको ७५ वर्षीय गंगाबहादुर कुमालले भन्नुभयो । स्थानीय निकाय जनप्रतिनिधिको हातमा छ । यसरी सबै गाउँठाउँमा जनप्रतिनिधिले हाम्रो नभनी सबैको हितका लागि राम्रो काम गर्नसके साँच्चिकै जनप्रतिनिधि जनताका साझा व्यक्ति बन्नेछन् ।

सात घरधुरीमा जस्तापाता वितरण
यहाँ खरको छानोमुनि बसोबास गर्ने सात घर परिवारका कुमाल समुदायलाई निःशुल्क जस्तापाता उपलब्ध गराइएको छ । आर्थिक अभावमा खरको छानोमुनि बसोबास गर्दै आइरहेका ती समुदायका सात घरधुरीमा जस्तापाता वितरण गरिएको हो । रामपुर नगरपालिकालाई पूर्ण खरको छानोरहित नगर घोषणा कार्यक्रमअन्तर्गत वडा नं ६ का कुमाल बस्तीमा खरको छानो हटाएर जस्तापाता लगाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस