बहुआयामिक भवन निर्माणका लागि महायज्ञको तयारी

विहीबार, २० बैशाख २०७५, १५ : ५०
बहुआयामिक भवन निर्माणका लागि महायज्ञको तयारी

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर दुईमा रहेको शेषलक्ष्मीनारायण मन्दिर परिसरमा बहुआयामिक बेङ्कटेश भवन निर्माणका लागि श्रीमद्भागवत विराट सप्ताह ज्ञानमहायज्ञ गरिने भएको छ । क्षेत्रपुरमा रहेको मन्दिर परिसरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञबारे जानकारी दिइएको हो ।
मन्दिरका मठाधीश एवं ज्ञानमहायज्ञ आयोजक मूल समितिका संयोजक पद्मनाभाचार्यले गुरुयोजना निर्माण गरी दस करोड रुपैयाँ लागत अनुमानसहित बहुआयामिक बेङ्कटेश भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले निर्माणाधीन अवस्थामा रहेको भवनका लागि दुई करोड रुपैयाँ खर्च भइसकेको र थप रकम जुटाउनका लागि महायज्ञको आयोजना गरिएको जानकारी दिनुभयो । महायज्ञबाट दुई करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महायज्ञको प्रमुखवाचक राजस्थान सँस्कृत विश्वविद्यालयका प्रा.डा. पुरुषोत्तमाचार्य रहनु हुनेछ । बैशाख २२ गतेदेखि ३० गतेसम्म महायज्ञ चल्नेछ । महायज्ञको उद्घाटन अयोध्या सप्तसागर नेपाली मन्दिरका मठाधीश श्री १००८ बालकृष्णाचार्य स्वामीले गर्नुहुने कार्यक्रम रहेको छ । महायज्ञ आयोजनामा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रचारप्रसार उपसमिति संयोजक नवराज ढकालले जानकारी दिनुभयो ।
बहुआयामिक बेङ्कटेश भवनमा आध्यात्मिक प्रवचन हल, सिसमहल, आवास क्षेत्र, गुरुकुलम् रहने छन् । दस वर्षभित्र मन्दिर निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको भवन निर्माण समितिका संयोजक चामुनारायण श्रेष्ठले बताउनु भयो । ३८ वर्ष पुरानो शेषलक्ष्मीनारायण मन्दिरमा दैनिक पूजाआराधना, भजनकिर्तन, सत्संग हुने गरेको छ । तीन कठ्ठा साढे सात धुर जमिन रहेको मन्दिर परिसरमा बहुआयामिक भवन निर्माण कार्य भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस