शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा

विहीबार, २० बैशाख २०७५, १४ : १६
शुक्लाफाँटा नगरपालिका तीन हजार युवा वैदेशिक रोजगारीमा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट तीन हजार ५९४ युवा वैदेशिक रोजगारीमा गएका छन् ।  नगरपालिका कार्यालयले गरेको घरघुरी सर्भेक्षण अनुसार २५८ महिला र तीन हजार ३३६ पुरुष वैदेशिक रोजगारीमा गएका हुन् । छिमेकीमूलुक भारतमा दुई हजार ९५०, खाडी मुलुकमा ५०७ र अन्य देशमा १३७ जना रोजगारीका लागि गएका छन् ।
शिक्षा आर्जनका लागि ३६ युवा विदेशिएका छन् । बैंक, सहकारी संस्था र समूहबाट ऋण लिएर वैदेशिक रोजगारीमा जाने युवाको संख्या १६८ छ । पशुपक्षी व्यापार, नोकरी, ज्यालादारी मजदुरीलगायतबाट नगरपालिकामा वार्षिक रुपमा रु एक अर्ब ५३ करोड ९४ लाख ८४ हजार ७१९ रकम आम्दानी हुने गरेको छ ।
कूल आम्दानीको ३६ दशमलव १५ प्रतिशत अर्थात रु ५५ करोड ६४ लाख ६२ हजार ९७७ रकम वैदेशिक रोजगारीबाट भित्रिने गरेको नगरपालिकाका प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो ।

वैदेशिक रोजगारीमा २० वर्षदेखि २४ वर्ष उमेरका एक हजार ८३६ युवा सहभागी भएका छन् । वैदेशिक रोजगारीबाट पठाएको रकमको अधिकांश हिस्सा घर घडेरी र विलासिताका बस्तु खरिदमा बढी खर्च हुने गरेको पाइएको छ । केहीले मात्रै उत्पादनशील क्षेत्रमा वैदेशिक रोजगारीबाट पठाएको रकमको सदुपयोग गरेको देखिएको जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस