‘दुनै प्रिमियरलिग’को उपाधि दुनै कोब्रालाई

बुधबार, १९ बैशाख २०७५, १३ : ३७
‘दुनै प्रिमियरलिग’को उपाधि दुनै कोब्रालाई

डोल्पा । दुनै प्रिमियर लिग क्रिकेटको उपाधि दुनै कोब्राले हात पारेको छ । दुनै प्रिमियर लिग क्रिकेटको पाँचौँ संस्करणमा जिल्ला प्रहरीलाई २७ रनले हराउँदै कोब्रा लिगको विजेता बनेको हो । विजेता दुनै कोब्राले नगद रु ३० हजार, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेताले रु १० हजारमा चित्त बुझाएको छ ।

करीब १० दिनसम्म चलेको लिगमा चारवटा टिमले सहभागिता जनाएका थिए । फाइनलमा पुगेको नेपाल प्रहरी र दुनै कोब्राको खेलमा टस हारेर कोब्राले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५५ रन बनाउँदै पहिलो इन्निङ सकिएको हो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल प्रहरीले सात विकेटको क्षतिमा १२८ रन बनाउन सफल भयो । लिगको विजेताको दाबेदार मानिएको नेपाल प्रहरी फाइनलमा भनाई अनुसार खेल प्रदर्शन नगर्दा खेलको उपविजेतामा चित्त बुझाउनु परेको हो ।
फाइनल खेलमा दुनै कोब्राका कप्तान अपार गुरुङले ५४ रनको अर्धशतक खेलेका थिए । त्यसैगरी, प्रिमियर लिगको खेल अवधिभर सर्वाधिक छक्का, सर्वाधिक रन र सर्वाधिक विकेटर पनि कप्तान गुरुङनै भएको आयोजकले जानकारी दिएका छन् । उनले २७२ रन, १५ विकेट र २३ छक्का प्रहार गर्दै उत्कृष्ट खेलाडीमा परेका हुन् । (रासस)

प्रतिक्रिया दिनुहोस