रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा मुम्बई इण्डियन्सलाई १४ रनले पराजित गर्दै बैंग्लोरले तेस्रो जित दर्ता गरेको हो ।
बैंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा घरेलु टोलीले दिएको १६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभरमा ७ विकेट गुमाएर मात्र १५३ रन बनाउन सक्यो । मुम्बईका हार्दिक पाण्डयले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै मुम्बईका जेपी डुमिनी र कुर्नाल पाण्डयले समान २३ – २३ रन जोड्दा किरोन पोलार्डले १३ रन जोडे । बैंग्लोरका उमेश यादव, मोहमद सिराज र टिम साउथेले समान २ – २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले पुरै २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । बैंग्लोरका मनन भोराले ४५ तथा ब्रेण्डन म्याकुलमले ३७ रन जोडे । यस्तै कप्तान विराट कोहलीले ३२ रन जोड्दा कोलिन डी ग्राण्डहोमेले अविजित २३ रन बनाए । मन्दिप सिंह १४ रनमा पेवेलियन फर्किए । मुम्बईका हार्दिक पाण्डयले ३ विकेट लिए । यो जितसँगै बैंग्लोर लिगको पाँचौ स्थानमा उक्लिएको छ । बैंग्लोरले ८ खेलबाट ३ जित र ५ हारसहित ६ अंक जोडेको छ । मुम्बईको यो छैटौं हार हो । मुम्बई ८ खेलबाट ४ अंकसहित लिगको सातौं स्थानमा रहेको छ ।
लिगको शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सको ८ खेलबाट १२ अंक रहेको छ दोस्रो स्थानमा सनराईजर्स हैदरावादले पनि ८ खेलबाट १२ अंक जोडेको छ । तर, हैदरावाद रन रेटमा चेन्नईभन्दा पछि परेको छ । लिगमा १० अंक जोडेको किंग्स इलाभेन पन्जाब तेस्रो र ८ अंक जोडेको कोलकाता नाइट राइडर्स चौथो स्थानमा रहेको छ । -एजेन्सी
प्रतिक्रिया दिनुहोस