चितवन । कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले गएराति केरा बगान फँडानी गरेको छ । कालिका नगरपालिकाको वडा नं ६ गुरौ चौरमा स्थानीय १२ किसानले लगाएका तयारी अवस्थामा रहेको तीन हजार १०० भन्दा वढी केराका बोट रातको समयमा फाँडिएको थियो ।
केरा व्यवसायी समितिका जिल्लाअध्यक्ष विष्णुहरि पन्तले रातको १० बजेपछि रातभर केरा फँडानी गरिएको हुनसक्ने बताउनुभयो । उहाँका अनुसार फाँडिएका केराको मूल्य १५ लाखभन्दा बढी छ । फँडानी गरिएका केरा अधिकांश पसाएको अवस्थाका थिए ।
स्थानीय पीडित किसान गोपी लामिछानेले दुई कट्ठा १० धुरमा रहेका सबै ३०० बोट केरा फँडानी भएको छ भन्दै सबैभन्दा बढी स्थानीय कोपिला दाहालको झण्डै १५ कट्ठा क्षेत्रफलमा लगाइएको केरा फाँडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रका १२ कृषकको केरा फाँडिएको देखिएको छ । अरुको के छ हेर्न बाँकी छ ।” वर्षभरको मेहनत खेर गएको लामिछानेले चिन्ता व्यक्त गर्नुभयो । सो क्षेत्रमा बस्ती केही पर केरा बगान रहेको छ ।
केही दिनअघिमात्रै सो क्षेत्रबाट लागुपदार्थ सेवन गरिरहेका युवालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको समूहबाट नै केरा फँडानी गरेको स्थानीयवासीले आशंका गरेका छन् । कालिका नगरपालिकाको पदमपुर क्षेत्र केराको पकेट क्षेत्रका रुपमा परिचित छ । पदमपुरका प्रायः घरमा केरा खेती गरिँदै आएका छन् ।
बजार लैजाने अवस्थामा रहेको केरा एकाएक फँडानी भएपछि किसान चिन्तित बनेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले घटना रिसइबीकै कारण भएको देखिएकाले अनुसन्धान तीव्र पारिएको बताउनुभयो । उहाँले आफूले केरा फाँडिएको क्षेत्र हेरेको भन्दै जसरी पनि दोषी पत्ता लगाएरै छाड्ने बताउनुभयो । जिल्लामा दुई हजार ६५० बिगाहमा व्यावसायिक केरा खेती हुँदै आएको छ । छ सय ३० जना किसान यो व्यवसायमा आबद्ध छन् । (रासस)
प्रतिक्रिया दिनुहोस