आइपिएल : दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराउँदै चेन्नई शीर्ष स्थानमा

मंगलबार, १८ बैशाख २०७५, ०७ : १९
आइपिएल :  दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराउँदै चेन्नई शीर्ष स्थानमा

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।

पुनेस्थित महाराष्ट्र क्रिकेट मैदानमा चेन्नईले दिएको २१२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभरमा ५ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो । दिल्लीका ऋषाव पन्तले ७९ तथा विजय शंकरले अविजित ५४ रन जोडेपनि टोलीलाई  जित दिलाउन सकेनन् । यस्तै दिल्लीका कोलिन मुन्रोले २६ रन बनाउदा कप्तान श्रेयस एयरले १३ रन जोडेका थिए । चेन्नईका केएम आसिफ २ तथा लुंगी नेग्दी र रविन्द्र जडेजाले समान १ – १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर २११ रन जोडेको थियो । चेन्नईको लागि शेन वाट्सनले ७८ तथा कप्तान महेन्द्र सिंह धोनीले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अम्बाती रायडुले ४१ रन जोड्दा फाप डु प्लेसिसले ३३ रन जोडे । दिल्लीका अमित मिश्रा,विजय शंकर र ग्लेन म्याक्सवेलले समान १ – १ विकेट लिए ।
यो जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ८ खेलबाट १२ अंक जोडेको छ । जितपछि चेन्नईले प्ले अफमा पुग्ने संभवाना बलियो बनाएको छ । पराजित दिल्ली ८ खेलबाट ४ अंक जोडेर लिगको पुछारमा रहेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दिप लामिछाने रहेको दिल्लीलाई प्ले अफमा पुग्न अबको बाँकी सबै खेल जित्नुपर्ने दबाब भएको छ ।

आईपीएल लिगको दोस्रो स्थानमा सनराईजर्स हैदरावाद रहेको छ । हैदरावादले ८ खेलबाट १२ अंक जोडेको छ । शीर्ष स्थानको चेन्नईसँग बराबरी अंक भएपनि हैदरावाद रन रेटमा पछि परेको छ । लिगको तेस्रो स्थानमा किंग्स इलाभेन पन्जाब र चौथो स्थानमा कोलकाता नाइट राइडर्स रहेका छन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस