मन्त्री प्रेम आलेले भने–म स्पीड रकेटजस्तो छु, तर कर्मचारी थोत्रा ट्वीनटरजस्तो भए

सफल खबर संवाददाता

बुधबार, १५ मंसिर २०७८, १९ : १८
मन्त्री प्रेम आलेले भने–म स्पीड रकेटजस्तो छु, तर कर्मचारी थोत्रा ट्वीनटरजस्तो भए

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन् । बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटरजस्तो भएको बताएका हुन् ।

पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउण्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले कर्मचारी संयन्त्रले पूर्ण सहयोग नगरेको गुनासो गरेका हुन् । आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्रगतिमा काम गरिरहेको भएपनि कर्मचारी संयन्त्रको गति सुस्त भएको गुनासो गरेका हुन् ।

पर्यटन क्षेत्र पनि भ्रष्टाचार र अनियमितताको दलदलमा फस्दै गएको भन्दै पर्यटन प्रवर्द्धन र विकासका लागि राम्रोसँग काम गर्न नसकिएको उनले बताए । पदमार्ग निर्माणका लागि पनि एउटै ठेकेदार कम्पनीले मात्रै पाउने गरी कर्मचारी संयन्त्रले ठेक्का मिलाउने गरेको भन्दै प्रतिस्पर्धा हुन नपाउँदा त्यहाँ पनि भ्रष्टाचार भएको उनले गुनासो गरे ।

मन्त्री आलेले भने, ‘हामी पर्यटन विकासका कुरा गर्छौँ । ट्रेकिङ रुट राम्रो बनाउने भन्दै ढुङ्गा विछ्याउन बजेट आउँछ । १५ करोडको ठेक्का आउँछ । तर त्यो ठेक्का पाउन पहिले ढुङ्गा बिछ्याएकै हुनुपर्ने भन्ने क्राइटएरिया राखिन्छ । अनि अघिल्लो वर्ष जसले पाएको हो, त्यो मात्रै योग्य हुन्छ र बिना प्रतिष्पर्धा एक्लै उसले ठेक्का पाउने हुन्छ । यसो गर्दा यदि प्रतिष्पर्धा भएमा ७–८ करोडमा सकिने काम पूरै १५ करोड लाग्ने हुन्छ । यसो हुँदा राज्यलाई घाटा हुन्छ । म कर्मचारीलाई त्यसो नगर्न र योग्य सबै ठेकेदारले पाउने गरी क्राइटएरिया बनाउन भन्छु,तर मेरा कर्मचारी साथीहरु यो वा त्यो भन्छन् । म रकेटको स्पीडमा काम गर्न खोज्दैछु, मेरा कर्मचारी साथीहरु थोत्रा ट्वीनटरजस्ता छन् । अनि अलि बढी स्पिड बढाउँ न त भन्यो भने यो मन्त्रीले दुःख दियो,काम गर्न नसक्ने भयो भन्छन् ।’


नेपाल पर्वतारोहण संघले ६ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्दा त्यसको राजश्व सरकारले लिने गरेको भन्दै उक्त रकमको १० प्रतिशत मजदुरका लागि कल्याणकारी कोष बनाएर राख्न र आवश्यक पर्दा दिन आग्रह गरेका थिए । सो को जवाफमा मन्त्री आलेले राजश्वको १० प्रतिशत मजदुरका लागि छुट्याउन कुनै समस्या नभएको भन्दै त्यसका लागि पहल गर्ने र पहिलेका मन्त्रीले किन गर्न खोजेनन् भन्ने कुरा उनीहरुकै समस्या भएको पनि बताए ।


साथै पर्यटन क्षेत्र लयमा फर्किन अझै समय लाग्ने भएकाले पर्यटन क्षेत्र र पर्यटन मजदुरका आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि मन्त्री आलेले बताए ।


पर्यटनमन्त्री आले यसअघि वनमन्त्री भएका बेला अनियन्त्रित अभिव्यक्तिका कारण चर्चित भएका थिए । मन्त्री आलेले कहिले यो सरकार जनताप्रति उत्तरदायी सरकार होइन त कहिले सरकारको स्पिड सात नम्बरको गेयरमा चलिरहेको छ र सोझै समुद्रमा पुग्ने हो भन्दै अभिव्यक्ति दिएका थिए । त्यसैगरी वनमन्त्री हुँदा उनले रुखलाई मानिसले अक्सिजन दिने कुरा गरेका थिए भने कोभिड १९ को संक्रमण बढेको बेला चीन सरकारले दिएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेका थिए । जसका कारण मन्त्री आले चर्चा र विवादमा तानिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस