प्रहरीको हिट लिष्टमा विप्लव

बुधबार, २० मंसिर २०७४, १६ : ०९
प्रहरीको हिट लिष्टमा विप्लव

चितवन । नेपाल प्रहरीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न हिट लिष्टमा राखेको छ । बुधबार पत्रकार सम्मेलन गरी नेपाल प्रहरीका प्रवक्ता मनोज न्योपानेले महासचिव विप्लव प्रहरीको खोजी सूचिमा रहेको बताए ।

निर्वाचनमा सुरक्षा सम्वन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता न्यौपानेले विप्लव नेकपा चुनाव विरोध गतिविधिमा संलग्न रहेको बताए  । पछिल्लो समय प्रहरीले विप्लवका नेता कार्यकर्तालाई पक्राउ गर्दै आएको छ । प्रहरीको निगरानीपछि विप्लव  सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

प्रहरी प्रवक्ता न्यौपानेले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको  बताए । प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई छन् ।

न्यौपानेले  स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागेको बताए । ‘निर्वाचनका लागि हामीले बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाक टोलीलगायत रिजर्भ टोली खटाएका छौँ,’ उनले भने । नेपाल प्रहरीले निर्वाचनका देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस